अविश्वास प्रस्ताव ल्याइसकेपछि प्रमले राजीनामा दिनुको औचित्य छैन: एमाले

833 पटक पढिएको

४ श्रावण २०७३, मंगलवार २०:०९ सम्पादक: धादिङ न्यूज

CPN-UML-party-officeकाठमाडौं । एमाले स्थायी कमिटीको बैठकले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि बजेट आश्रित विधेयक कार्यसूचीमा आउनुपर्नेमा जोड दिएको छ ।

प्रम निवास बालुवाटारमा बसेको बैठकपछि एमाले सचिव योगेश भट्टराईले विपक्षीले हतारमा अविश्वास प्रस्ताव ल्याइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुको औचित्य छैन भन्दै सबै संवैधानिक निकायले संविधान बमोजिम प्रस्तुत हुनुपर्ने पार्टीले ठहर गरेको जानकारी दिए ।

उनले संसद्लाई ध्रुवीकरणमा नलैजान र संसदीय पद्धतिअनुसार पूर्ववत् कार्यसूचीलाई यथावत् राख्न आग्रह गरे । यस्तै अर्का सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीका लागि पद त्याग्नु ठूलो कुरा नभई संविधानको कार्यान्वयन, अन्तर्राष्ट्रिय सम्बन्धमा भएका उपलब्धिको निरन्तरता र अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार बनाउने संवैधानिक व्यवस्थामा रहेका अस्पष्टता फुकाउन अन्य दलका शीर्ष नेतालाई आग्रह गरिएकाले विवादबारे समझदारीबाटै समाधान खोज्न एमाले तयार रहेको बताए ।