रोजगारको अभाव – ११ सय १७ पदका लागि एक लाख १६ हजारकाे दरखास्त

488 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो।  कान्तिपुर दैनिकमा समाचार छ।
आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन्।
शिक्षकका लागि यसपालि सबैभन्दा बढीले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए। आयोगले ०६९ मा प्रावि, निमावि र माविको १३ हजार ५९ पदमा विज्ञापन गर्दा चार लाख १३ हजार अर्थात् ३१ गुनाले आवेदन दिएका थिए। गत असारमा परीक्षा लिएको माध्यमिक तहमा १४ बिषयमा ६ सय ११ चाहिनेमा ३८ हजारले परीक्षा दिएका थिए।
यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन्। त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन्।
नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै थोरै आवेदन परेका छन्। १ जना माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन्।