चुनढुंगा खानीलाई ढुंगा उत्खनन्‌मा रोक

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्रावण १६, २०७३- सिमेन्ट उद्योगलाई दैनिक गरिने चुनढुंगाको निकासी प्रक्रिया गैरकानुनी र अपारदर्शी भएको भन्दै जिल्ला वन कार्यालय धादिङले जोगिमारास्थित अन्नपूर्ण क्वेरिज प्रालिलाई ढुंगा उत्खनन्‌मा रोक लगाएको छ ।

विगत २ दशकदेखि लगातार सञ्चालित जोगिमाराको मौवाखोलामा रहेको उक्त खानी सयौं हेक्टरमा फैलिएको छ । उक्त खानीबाट चुनढुंगा खानीबाट अन्नपूर्ण क्वेरिजले हेटौंडा सिमेन्ट लगायत भैरहवा र नवलपरासीमा रहेका भारतीय सिमेन्ट कम्पनी अम्बे र रिलायन्सलाई वर्षातको समयमा बाहेक दैनिक २ देखि ३ सय टिपर चुनढुंगा निकासी गर्ने गरेको थियो । प्रति टिपर ढुंगाको आयतन ३५ वर्गफिट हुनेगरेको छ इकान्तिपुरमा खबर छ ।

प्रारम्भिक अध्ययनमा जिल्लाको त्यति धेरै चुनढुंगा निकासी गर्दा पनि कुनै सरकारी निकायले दैनिक निकासी लगत नराखेको र जिल्लाबाट निकासी पूर्जी पनि नलिएको फेला पारेपछि आवश्यक छानविनको दायरामा ल्याई व्यवस्थित गर्न हाललाई बन्द गरिएको हो प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए । प्रजिअ सुवेदीका अनुसार ठेक्का दिने जिल्ला विकास समिति, जिल्ला वन कार्यालय वा खानी विभागले दैनिक निकासी तथ्याङ्क राख्नु पर्नेमा नराखेर जति पनि लिन पाउने मानसिकतामा रहेको पाइयो ’ ।

‘राष्ट्रिय वन क्षेत्रमा पर्ने कुनै पनि वस्तु उत्खनन् र निकासी गर्दा वन पैदावार अन्र्तगत जिल्ला वन कार्यालयको समेत निकासी पुर्जी लिनु पर्नेमा हाल सम्म उक्त प्रक्रियामा नगई मनपरि गरेको पाइएको छ । ठेकेदार स्वयं गएर निकासी गर्ने गरेको परिणाम भन्दा खानी विभागमा निकासीको परिणाम आफै तोकेर सरकार लाई समेत राजस्व छल्ने गरेकोले पाईएकोले आवस्यक अनुसन्धानको दायरामा ल्याएका छौं,’ जिल्ला वन अधिकृत इमानाथ पौडेलले बताए ।

उक्त खानीका व्यवस्थापक आनन्द श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । उक्त क्वेरिजले खानी विभागबाट इजाजत पत्र लिएर जिल्ला विकासलाई दुई दशक अघि ३ लाख रकम निकासी कर बुझाउन सुरु गरि गत वर्ष ८५ लाख र चालु आर्थिक वर्षमा ९० लाख १० हजारमा निकासी गर्न पाउने ठेक्का लिएको जिल्ला विकास समितिले जनाएको छ । उक्त क्वेरिजले चुनढुंगाबाट कुखुराको दाना बनाउने उद्योग र सिटामोल चक्की औषधी उत्पादन गर्ने कम्पनीहरुमा निर्यात गर्ने गरेको छ ।

उक्त खानीमा उत्खनन् गर्ने उपकरणहरुका ठेकेदारहरुको आपसी कलह र प्रतिस्पर्धाले बारम्वबार स्काभेटर, डोजर लगायतका उपकरणहरुमा आगजनी हुने गरेको छ ।