प्रस्तावित नमुना शहर गल्छीवजार टेलिकमको उपेक्षामा

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)राष्ट्रको संचार भन्ने नारा घन्काउने नेपाल टेलिकमको लापरवाहीको कारण धादिङको गल्छीवजार क्षेत्रका नेपाल टेलिकमका उपभोक्ताहरु मर्कामा परेका छन । पटक पटक यस क्षेत्रको टेलिफोन र एडिएसएल लाइनमा समस्या देखिने गरेको छ । समस्या देखिएको हप्ता दिन वितिसक्दा पनि टेलिकमले मर्मत गरिदिने तर्फ कुनै चासो नदेखाईदिंदा उपभोक्ताहरु मार खप्न वाध्य भएका हुन । जेठ र असार महिनामा १५ दिन भन्दा बढी नेपाल टेलिकमको एडिएसएल लाईन वन्द हुंदा पनि यहाँका उपभोक्ताले नचलेको दिनको समेत शुल्क तिर्नु परेको थियो । समस्या देखिनासाथ नेपाल टेलिकमको जिल्ला सदरमुकाम स्थित कार्यालयमा गुनासो गर्दा १९८ नम्बरमा कल गरी गुनासो राख्नु पर्ने टेलिकम धादिङका कर्मचारीहरु बताउंछन । वजार क्षेत्रमा जोडिएका अधिकांश टेलिफोन लाइनमा डायल टोन वज्न छाडेको छ । बाहिर वाट फोन गर्दा घण्टी वजिरहेपनि सेटमा कुनै आवाज नआउने भएपछि उपभोक्ताहरु मर्कामा परेका हुन ।समस्याको वारेमा जानकारी लिन खोज्दा नेपाल टेलिकम धादिङको कार्यालय प्रमुखको सम्पर्क नम्बर ०१०–५२०१०२ र विल शाखाको ५२०४४४ मा समेत फोन उठ्न छाडेको उपभोक्ताहरुको गुनासो छ ।
जिल्लाको कार्यालयमा सिधै गुनासो राख्न नपाएपछि उपभोक्ताहरुले १९८ मा कल गरेर समस्या राखेपनि विग्रिएको टेलिफोन मर्मत गरिदिने तर्फ टेलिकमले कुनै चासो नदेखाईदिंदा साउनको १४ गते पछि गल्छीवजार क्षेत्रका ३० भन्दा बढी टेलिफोन लाइनका उपभोक्ताहरुले सेवा उपभोग गर्न पाएका छैनन ।
गल्छीवजार क्षेत्रमा नेपाल टेलिकमको मोवाईल सेवा समेत संचालनमा आएको छैन । निजी क्षेत्रबाट संचालित एनसेलले गल्छीवजारलाई लक्षित गरेर टावर निर्माण गरिरहेको भएपनि सरकारी स्वामित्वको टेलिकमले भने बर्षौ देखि यस क्षेत्रमा आफ्नो मोवाइल् सेवा संचालन गर्ने तर्फ कुनै चासो नदेखाउनुलाई स्थानीयले अर्थपूर्ण रुपमा हेरेका छन । सरकारले अघि सारेको देशको १० वटा नमुना शहर मध्येको राजधानी नजिकैको गल्छीवजार नेपाल टेलिकमको उपेक्षमा पर्नु भित्र एनसेलको लालिपपमा टेलिकमका कर्मचारी फसेको हुन सक्ने आम उपभोक्ताको वुझाई छ ।