सडकमा नाला पृथ्वीराजमार्ग बन्यो जिर्ण,मर्मत गर्न कसैको ध्यान गएन

1095 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Galcchi highway 1231केशव अधिकारी
धादिङ,- झट्ट हेर्दा कुनै ग्रामीण सडक जस्तो लाग्ने यो दृष्य देशकै सबैभन्दा व्यस्त राष्ट्रिय राजमार्गको हो भन्दा पत्यार नलाग्न पनि सक्छ । घाम चर्कियोस या पानी दर्कियोस यो सडकमा मोटर गुड्न सक्दैन । घामचर्कदा चारै तिर कुहिरीमण्डल भएर धुलो उड्छ भने पानी पर्दा सडकनै नदेखिने गरी भलवाढीले सडक छोप्ने गर्दछ ।
धादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीचोक देखि ३ सय मिटर परको यो दृष्य स्थानीयवासीका लागि सामान्य भईसक्यो । पृथ्वीराजमार्गको यो खण्ड भएर दिनहुं ६ हजार भन्दा बढी सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन । देशका ६७ जिल्लालाई राजधानीसंग जोडने र राजधानीबाट बाहिरिने मुख्य सडकको रुपमा पृथ्वीराजमार्गको प्रयोग हुने गर्दछ । यो सडक भएर सर्वसाधारण मात्रै होइन देशका विशिष्ठ व्यक्तिहरुपनि दिनहुँ यात्रा गरिरहेका हुन्छन ।
Galcchi highway 1232यो सडक खण्ड भत्किएर मोटर गुड्नै नसक्ने भएको एक बर्ष हुन लाग्यो । पचास मिटर जति सडकमा कालोपत्रेको नामो निशाननै हराईसकेको छ । जुन सवारी साधन आएपनि यहाँनेर नरोकि अघि बढ्नै मिल्दैन । पानी परेर सडकमा हिलोजमेको बेलामा त सडकको दुवैतर्फ २ किलोमिटर जति जाम लाग्ने गर्छ भने सडकबाट निस्किएको हिलो घाम लागेपछि धुलो बनेर स्थानीयको घर र पसल ढाक्न आईपुग्ने गरेको स्थानीय व्यवसायी उत्तम रिमालले वताउनु भयो ।
विग्रिएको सडक मर्मत गर्ने तर्फ कुनै निकायको ध्यान पुग्न नसक्दा सवारी साधन र यात्रुले सास्ती खेप्न वाध्य हुनु परेको छ ।सडक विग्रनुमा सरकारी निकायको दोष नभएपनि वनाउने जिम्मा सडक विभागको भएकाले भत्किएको सडक समयमै मर्मत सुधार गर्न विभागले चासो नदेखाएकोमा यात्रु र चालक आक्रोशित हुने गर्दछन ।
Galcchi highway 1233सडकमा मोटर गुड्नै नसक्ने गरी खाल्डाखुल्डी भएकाले दिनमा एक दर्जन भन्दा बढी मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुने गरेको प्रत्यक्षदर्शी वताउंछन । यो सडक विग्रनुमा सडकको माथि तिर केही व्यक्तिले निजी जग्गामा प्लटिङ गरेर खोल्साको निकास वन्द गरी सिधै सडकमा पानी लगाईदिएकाले गर्दा समस्या भएको हो ।
विग्रिएको सडक मर्मतका लागि ठुलै खर्च लाग्ने र बर्षातको वेला कालोपत्रे गर्नु सम्भव नभएकाले समय समयमा ग्राभेल हालेर खाल्डा पुर्ने काम गर्दै आईरहेको सडक विभागका सुपरभाईजर ऋषि खतिवडा बताउंछन ।