तसर्पु -धादिङ । तसर्पुका भूकम्पपीडितहरु बैँक खातामा आएको रकम निकाल्न नपाएर समस्यामा परेका छन् । अनुदान सम्झौता भएका घरधुरी भएका मध्येका ६१६ घरधुरीको पहिलो किस्ताको रकम ५० हजार नौबिसेमा रहेको सानीमा बैँकको खातामा आए पनि अधिकांशको नाम, थर र नागरिकता नम्बर नमिलेपछि बैंकबाट रकम निकाल्न नपाएर भूकम्पपीडितहरु समस्यामा परेका हन् ।
पुनः निर्माण प्राधिकरणले तसर्पु गाविसमा भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका एक हजार तीन सयको संख्यामा रहे पनि एक हजार ३९ घरधुरीको नाम लाभग्राही सूचीमा निकालेको थियो । प्राधिकरणले गलत नाम, थर र नागरिकता नम्बरसहितको नामावली पठाएप्छि रकम पाउनेहरु पनि समस्यामा परेका हुन् ।
तसर्पुका भूकम्पपीडितहरुले बैँक खातामा आएको रकम निकाल्न नपाएर समस्यामा परेको शिवराज आचार्यले बताए । स्थानिय विनोद लामाले भने, ‘स्थानीयले सही नामावली टिपाए पनि प्राधिकरणले गलत नाम, थर प्रकाशित गरेकोले समस्या भएको छ ।’ गाविस कार्यालयका सहायक नवराज थापा गाविसमा ५० भन्दा बढी भूकम्पपीडितको नामावलीमै त्रुुटी भएको बताउँछन् । नाम, थर र नागरिकता नम्बर नमिलेका पीडितहरुले गाविसमा गएर निवेदन दिएपछि गाविसले उक्त गुनासो जिल्ला प्राधिकरणलाई पठाएर प्राधिकरणले पुनः बैँक खाताबाट पैसा निकाल्ने व्यवस्था मिलाइदिने थापाले बताए ।
विवरण नमिलेको भन्दै गाविसमा २१८ घरधुरीले गुनासो फारम भरेका छन् । ८ सय एक घरधुरीले निजी आवास निर्माणको लागि सम्झौता गरिसकेका छन । गाविसले ७९१ घरधुरीको सम्झौता जिल्ला प्राधिकरणमा पठाएको थियो । भूकम्पबाट धादिङ जिल्लामा मात्र सात सयभन्दा बढीको मृत्यु तथा १ हजारभन्दा बढी मानिसहरु घाइते भएका थिए ।