रेडियो धादिङको भवन भत्काउनेलाई कारबाही गर्न एमालेको माग

369 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, असोज ७-नेकपा एमालेले धादिङको निलकण्ठमा रहेको रेडियो धादिङ एफएमको भवन भत्काइएकोमा पार्टीको ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैर जिम्मेवारी र जिल्लास्थित अधिकारीको पूर्वाग्रह देखिएको र यसले कानुनी राज्यको खिल्ली उडाएको बताएका छन्।

विज्ञप्तिमा सामुदायिक वनको जग्गामा विद्यालय, क्याम्पस, अस्पतालजस्ता संघसंस्था अन्यन्त्र पनि बनेको र ती संरचनालाई के गर्ने भन्नेबारे नीति नै नबनाई मध्यरातमा प्रहरीले घेरा हाली भवन भत्काइनुमा स्वतन्त्र सञ्चार माध्यमलाई बन्द गर्ने मनसाय रहेको उल्लेख गरिएको छ।

एमालेले रेडियो पुन सञ्चालनको व्यवस्था गर्न र घटनामा संलग्न सरकारी अधिकारीलाई कारबाही गर्न माग गरेको छ।

यसअघि जंगल अतिक्रमण गरी निर्माण गरेको आरोपमा जिल्ला वन कार्यालयले एकाबिहानै स्थानीय धादिङ सामुदायिक रेडियो धादिङमा डोजर प्रयोग गरेर भत्काएको थियो।

जिल्ला वन कार्यालयका ६ जना जिल्लाका सशस्त्र वन रक्षक र अन्य जिल्ला वाट १९ जना वनरक्षक बोलाएर करिव अढाई सय जनपद र सशस्त्र प्रहरीको जत्थाले शुक्रबार विहान ३ वजे रेडियो धादिङको भवन भत्काएको थियो।