धादिङमा ७० हजारले अनुदान बुझेपनि अहिले सम्म २१ सय ४३ घर मात्रै वन्न शुरु

725 पटक पढिएको

सम्पादक: Dhading News

reconstruction-punarnirmanअनुदान रकम पाएदेखि  घर वनाउछौं भनेर फलाक्दै हिंडेका धादिङका हजारौं भुकम्प पिडित पहिलो किस्ताको रकम बुझेपछि यति बेला गुमनाम जस्तै भएका छन । जिल्लाको ८८ हजार ५ सय ४४ घरधुरी क्षती भएकोमा प्राधिकरणले ७० हजार घरलाई पहिलो किस्ताको अनुदान रकमको सम्झौता गरिसकेको भएपनि धादिङ जिल्लामा अहिले सम्म २१ सय ४३ वटा घरमात्रै बन्न शुरु भएको तथ्याङक राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले वाहिर ल्याएको छ । अनुदान सम्झौता गरेर रकम लिएका मध्ये कतिपयले दशै तिहार मानेर अनुदानको रकम खर्च गरिसकेका छन भने केहीले भने अन्य फुमार्सि समेत गरेको पाईएको छ । कति पय वास्तविक भुकम्प पिडित  अनुदान पाउन योग्य नभएपछि उनिहरुको बिचल्ली भएको छ ।     सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्प अतिप्रभावित जिल्लामा ११ हजार ९ सय ८९ घरको पुनर्निर्माण सुरु भएको बताएको छ ।

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरी शर्माले गाउँ गाउँमा खटिएका इन्जिनियरहरुको सहयोगले पुनर्निर्माण भएका घरको तथ्यांक संकलन गर्न सुरु गरेको जानकारी दिए । ‘ठाउँ ठाउँमा घर निर्माण भइरहेका छन् । अब तथ्यांक आउनेक्रम बढ्छ’- उनले भने ।

कार्यान्वयन इकाईका अनुसार सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर , ओखलढुङ्गा र रसुवा जिल्लाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको छ ।

कहाँ कति घरको निर्माण थालियो ?

क्र.सं. जिल्ला निर्माण सुरु भएका घर संख्या
सिन्धुपाल्चोक १५८३
धादिङ २१४३
काभ्रे ९९५
नुवाकोट ३१६२
गोर्खा ११२४
दोलखा १२१४
रामेछाप ७००
सिन्धुली १२६
मकवानपुर ३५१
१० ओखलढुङ्गा ४६३
११ रसुवा १२८
जम्मा ११,९८९

स्रोत : सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई


कुन किस्तामा कति अनुदान ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास पुनर्निर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरहरुले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताए ।

उनले पहिलो किस्ताको अनुदान रकम वितरण भइसकेकाले अब धेरैले घर निर्माण सुरु गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले भूकम्प पीडितलाई तीन किस्तामा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान कार्यविधि संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको छ ।

नयाँ घोषणा अनुसार भूकम्प पीडितले पहिलो किस्तामा ५० हजार जग हालिसकेपछि सहरी विकास मन्त्रालयले गाविस तथा नगरपालिकामा खटाएका इन्जिनियरको सिफारिसमा १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ पाउनेछन् ।

प्राधिकरणका अनुसार दोस्रो  र तेस्रो किस्ता प्राप्त गर्नका लागि भूकम्प प्रतिरोधी प्रविधि अनुसार घर पुनर्निर्माण गरेको हुनुपर्छ ।

‘अनुदान सम्झौता द्रुत’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर ६ गतेसम्म भूकम्प अति प्रभावित एघार जिल्लाका ४ लाख ७० हजार ५ सय २४ घरधनीसँग अनुदान सम्झौता भएको छ भने ४ लाख ३२ हजार ७ सय ३८ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भएको छ ।

अनुदान पाउनु अघि पनि भूकम्प प्रभावित क्षेत्रका केही ठाउँमा घरहरु बनाइएका छन् । कार्यान्वयन इकाईका प्रमुख शर्माका अनुसार अब त्यसको विवरण पनि आउनेछ ।

प्राधिकरणका अनुसार अनुदान पाउने छनौट सूचीमा परेका घरधनीले भूकम्प प्रतिरोधी घर बनाएको प्रमाणित भएमा एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउन सक्नेछन् ।

यसैबीच काठमाडौं उपत्यकामा अनुदान पाउन छनौट सूचीमा परेका भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता गर्ने क्रम जारी छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर ६ गतेसम्म काठमाडौंमा १६ हजार ४ सय ५९, भक्तपुरमा ६ हजार २४ र ललितपुरमा ४ हजार ३ सय २२ घरधनीसँग अनुदान भइसकेको छ यो समाचार अनलाइन खबरको सहयोगमा तयार पारिएको हो ।