२५ सिडिओको सरुवा,धादिङका सुवेदी मध्यमाञ्चल क्षेत्रीय प्रशासनमा ,बरिष्ठ उपसचिव उमेश ढकाल धादिङको कायममुकायम प्रमुख जिल्ला अधिकारी

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ministry-of-home-810

कानूनको पालना भन्दै एउटा वर्गको विरुद्ध निर्मम भएर दमनमा उत्रिंदै आएका   धादिङका प्रमुख जिल्ला अधिकारी अन्तत सरुवा भएर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडाको सह प्रशासकमा थन्किन पुगेका छन । धादिङ जिल्लामा रहंदा बिशेषगरी नेकपा एमाले समर्थित व्यक्तिहरुद्धारा संचालित उद्योग धन्दा,संघ संस्था वन्द गराउन निकै सक्रिय भएर काम गरेका कारण सुवेदी विवादित हु.दै आईरहेका थिए ।

कुम्पुर,नलाङ,सलाङ र जोगिमारा गाविसका भुकम्प पिडितहरुको सहयोगका लागि काम गरिरहेको जनचेतना तथा युवा जागरण मञ्च ( फाया नेपाल) लाई निश्चित समूहको दवाव पछि संस्थालाई धादिङ छाड्न प्रजिअ सुवेदीले वाध्य पारेका थिए । फाया नेपालले १२ सय परिवारलाई जिविकोपार्जनका लागि प्रति व्यक्ति १५ हजारका दरले नगद वितरण गरेको थियो । यसै गरी जिल्लाको १४ सय भुकम्प पिडित परिवारको घरमा पक्कि शौचालय निर्माण, न्यानो कपडा शिर्षकमा ३ हजार परिवारलाई १० हजारका दरले नगद वितरण गरेको थियो ।
संस्थाले भुकम्प पिडितका लागि जस्तापाता, खाद्यान्न, लत्ता कपडा समेत वितरण गरेको थियो । आफ्नो कार्य क्षेत्र भित्र विभिन्न समूह वनाएर ति समूहलाई जिविकोपार्जनका लागि २० हजारका दरले नगद सहयोग कार्यक्रम सञ्चालन हुन नपाउंदै संस्थाको कारण गाउँ गाउँमा एमाले कार्यकर्ताहरु बढी सक्रिय भएको भन्दै प्रजिअ सुवेदी मार्फत फायालाई धादिङ छाड्न वाध्य पारिएको थियो । यो त एउटा उदाहरण घटना मात्रै हो सुवेदीको कारण धादिङका थुप्रै संएस्थाले अनाहकमा दुःख पाएको संस्थाका संचालकहरु वताउंछन ।
प्रजिअ सुवेदीको हठका कारण कुम्पुर गाविसका भुकम्प पिडितहरुले राज्यले वितरण गरेको दोश्रो चरणको १५ हजार रुपैया लिन पाएनन, स्थानीयवासीले पटक पटक प्रजिअलाई भेटेर सो रकम वितरणको व्यवस्था मिलाईदिन आग्रह गर्दा पनि सो रकम फ्रिज गराईएको थियो । फाया नेपालले जिविकोपार्जनका लागि भनेर रकम वितरण गरेको भन्दै भुकम्प पिडितलाई बितरण गर्न पठाईएको रकम प्रजिअले फिर्ता पठाईदिएका हुन । कुम्पुर वाहेक अन्य गाविसमा संघ संस्थाले वितरण गरेको राहत र रकम भुकम्प पिडितले पाएपनि कुम्पुरमा मात्रै सरकारी रकम भने लिनबाट बञ्चित गराईएको थियो ।
राजनैतिक पुर्वाग्रह राखेर विभिन्न आरोप लगाउंदै सर्वसाधरण देखि जिल्ला तहका नेताहरु माथि समेत धरपकड गर्दै अनाहकमा दुःख दिने गरेको कारण सुवेदी धादिङ जिल्लामा विवादित र आलोचित हुंदै आईरहेका थिए । एक बर्ष अघि धादिङ लगायत विभिन्न जिल्लामा सह सचिवको दरवन्दी कायम गरेपछि दिपक काफ्ले धादिङको प्रमुख जिल्ला अधिकारी भएर आएपनि तत्कालिन एकीकृत माओवादीका नेताहरुको दवावमा २ महिनामै काफ्लेलाई सरुवा गरी मन्त्रालयबाट सुवेदीलाई धादिङको प्रजिअमा ल्याईएको थियो ।एमाओवादी वाहेकका अन्य दल निकटका  भुकम्प पिडितलाई चिन भ्रमणमा पठाएको भन्दै काफ्लेको सरुवा मागिएको थियो ।  प्रजिअ भएर जिल्ला आएयता विभिन्न हर्कत गरेर विवादमा फस्दै आएका सुवेदीको सरुवा नियमित प्रकृया भएपनि धेरैले महत्वका साथ हेरेका छन ।

गृह मन्त्रालयले सुवेदी सहित  २५ जना प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको छ । मन्त्रालयले सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनसकेकाले सरुवाको निर्णय गोप्य राखेको छ ।

सरुवा भएर को कहाँ पुगे ? 

गृह मन्त्रालयले सरुवा गरेकामध्ये मन्त्रालयका ७ जना बरिष्ठ उपसचिवलाई विभिन्न जिल्लामा कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ । गृह मन्त्रालयले बरिष्ठ उपसचिव उमेश ढकाललाई धादिङको कायममुकायम प्रमुख जिल्ला अधिकारी बनाएको छ । यसअघि धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई भने मध्यमाञ्चल क्षेत्रीय प्रशासनमा पठाइएको छ । झापामा उत्तरकुमार खत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ भने मोरङमा यज्ञराज कोइरालालाई पठाएको छ ।

सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लोकनाथ पौडेलले पाएका छन् । यस्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई नवलपरासी सरुवा गरिएको छ । गुल्मीमा भने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण ढुंगानालाई पठाएको छ । यस्तै मन्त्रालयले बाराको प्रमुख जिल्ला अधिकारीमा यसअघि सिरहामा प्रमुख जिल्ला अधिकारी रहेका बिजय मानन्धरलाई पठाएको छ ।सिरहामा भने मन्त्रालयका वरिष्ठ उपसचिव श्रीकृष्ण श्रेष्ठलाई कायम मुकायम प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।
यसैगरी  मन्त्रालयले गोरखाका नारायण भट्टलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेर गोरखामा मन्त्रालयका सहसचिव उद्धवबहादुर थापालाई पठाएको छ । यस्तै मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा नारायणप्रसाद दवाडीलाई नियुक्त गरिएको छ ।

यसैगरी कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा रुपन्देहीका विष्णु ढकाल र रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा चितवनका विनोद प्रकाश सिंहलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । मन्त्रालयले डोटीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव गोकर्ण शर्मालाई खटाएको छ ।

सिन्धुपाल्चोकमा कार्यवहाक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई नै कायम मुकायम प्रमुख जिल्ला अधिकारी तोकेको छ ।यस्तै मन्त्रालयले नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई सुर्खेतमा र वरिष्ठ उपसचिव प्रदिपराज कँणेललाई सर्लाहीको कायम मुकायम प्रमुख जिल्ला अधिकारीको तोकिएको छ ।

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शिव सिंखडालाई तोकिएको छ । यसअघि गृह मन्त्रालयले जेठ २७ गते ५३ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको थियो ।