नारायणगढ–मुग्लिन सडक निर्माणमा ढिलाइ

644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

0f5d91220df155a456b3d54858f54e00चितवनः हालसम्म ५० प्रतिशत काम सकिनुपर्ने नारायणगढ–मुग्लिन सडकको निर्माण कार्य ३०.४१५ प्रतिशतमात्र सम्पन्न भएको छ ।

नोभेम्बर २०१७ सम्ममा आयोजनाको पहिलो संशोधित कार्यक्रमअनुसार करिब ६८ प्रतिशत समय बितिसकेको छ । कार्यतालिका अनुसार दुई तिहाई समय बित्दा ५० प्रतिशत कार्य प्रगति हुनुपर्ने हो ।

आयोजनाले दिएको विवरणअनुसार नोभेम्बर अन्त्यसम्म सडक निर्माणको ३०.४ प्रतिशत मात्रै काम पूरा भएको छ । लक्ष्य ४६ प्रतिशत थियो भने समय ६८ प्रतिशत सकिएको छ ।

यही आउँदो पुस महिनाको अन्त्यबाट योजना अनुरुप कालोपत्रेको कार्य सुरु गर्न सकेमा तत्पश्चात उल्लेख्य प्रगति हुने आशा आयोजनाले राखेको छ ।

दुई वर्षभित्र काम सक्ने गरी सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । “डिसेम्बर २८ सम्म निर्माणसम्बन्धी आधा काम पूरा हुनुपर्ने अवस्था हो । निर्माण व्यवसायीले यो लक्ष्य एक महिनाअघि नै पूरा गर्छौं भनेका थिए । तर, सोअनुसार काम भएको छैन ।

समय थप्ने वा निर्माण कम्पनीलाई जरिवाना गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,” नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

सुरुवाती समयमा परेको भूकम्प र नाकाबन्दीका कारण इन्धनलगायत निर्माण सामग्रीको अभाव र वर्षात्को पहिरो आदिले आयोजनाको काम प्रभावित हुन पुगेको छ ।

जम्मा ३६ किमि लम्बाइको सडकलाई तीन खण्ड बनाएर विस्तारको काम हुँदैछ ।

एसियाली मापदण्डअनुरूप दुई लेनको सडक बनाउन एसियाली विकास बैंकको ऋण सहयोगमा लगभग तीन अर्ब रूपैयाँको लागतमा सो सडक विस्तारको काम भइरहेको छ । तीन खण्डमध्ये सबैभन्दा धेरै काम बीच खण्ड अर्थात् दासढुंगादेखि सीमलतालसम्म ३७ प्रतिशत सकिएको छ ।

त्यस्तै सबैभन्दा कम काम आँपटारीदेखि दासढुंगासम्म भएको छ । सो खण्डमा अहिलेसम्म २६ प्रतिशत मात्रै काम पूरा भएको छ । सीमलतालदेखि मुग्लिनसम्मको खण्डमा पनि काम सुस्त छ । सो खण्डमा जम्मा २७ प्रतिशत काम सकिएको छ । पुस महिनाबाट पहाड काटेको र पर्खाल लगाएको ठाउँहरूमा कालोपत्रेको काम पनि सुरू गर्ने सूचना अधिकारी खनालले जानकारी दिए कारोवार दैनिकमा खबर छ ।

आउँदो पुसदेखि आँपटारी र दासढुंगा क्षेत्रमा कालोपत्रेको काम सुरू हुने उनले बताए । सो सडक खण्ड भई दिनमा १० हजारको हाराहारीमा सवारी साधन ओहोरदोहोर गदर्छन् ।