धादिङमा गरियो विपद व्यवस्थापनको पूर्वतयारी

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंसिर २४, २०७३- भूकम्प तथा आगलागीका घटना भएपछि आइपर्ने विपद्‌लाई कसरी व्यवस्थापन गर्ने ? यस्तोबेला धेरै मानिसहरु आत्तिएर दौडने, भाग्ने, चिच्याउने लगायतका क्रियाकलापहरु गर्छन् । विपद्‌लाई व्यवस्थापन गर्ने भन्दापनि यसबाट टाढिन खोज्छन् । 

विपद्‌को बेला यस्तो नहोस् भनेर धादिङमा विपद्‌ व्यवस्थापन कसरी गर्ने भनेर धादिङका सुरक्षा संयन्त्र र रेडक्रसकर्मीले अभ्यास गरे । जिल्ला दैवी प्रकोप उद्धार समितिको आयोजनामा शुक्रबार धादिङबेंसीस्थित टुँडिखेलमा भूकम्प र आगलागीका घटनापछि तत्काल गर्नु पर्ने उद्धारको अभ्यास गरियो ।


अभ्यासमा विपद्मा तत्काल परिचालन हुनु पर्ने संयन्त्रहरु स्थानीय प्रशासन , जिल्लास्थित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी, स्वास्थ्यकर्मी, रेडक्रसका स्वयंसेवक ,एम्बुलेन्स, दमकल लगायत सबैखाले संयन्त्र प्रयोग गरिएको थियो । 

उक्त कृत्रिम अभ्यास हेरेर सिक्न स्थानीयवासीहरु र विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति थियो ।

‘उक्त अभ्यासले विपदमा जोखिम न्यूनीकरण, तत्काल उद्धार र घाइतेलाई उपचार, उद्धारमा खटिने संयन्त्रहरुलाई सधैं सजग र पूर्वतयारी राख्छ,’ प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने ।

गत हप्ता मात्रै रेडक्रसले पृथ्वीराजमार्गमा सवारी दुर्घटनाको अभ्यास गरेको थियो । उक्त अभ्यास र तालिम सञ्चालन गर्न रेडक्रसलाई सेभ द चिल्ड्रेन तथा अक्सफाम नामक अन्तर्राष्ट्रिय संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

इकान्तिपुरबाट
तस्बिर शव्द / हरिहर सिंह राठौर