धादिङमा सालीलाई छोरी बनाएर नागरिकता वनाईदिने पक्राउ

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nagarikataधादिङ– १२ माघ । झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनले पक्राउ गरेको छ । भिनाजुसँगै नागरिकता र राहदानी लिने दुवैजनालाई पनि प्रहरीले पक्रेको छ ।

पर्वत जिल्ला माझफाँट–१ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक–१ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए ।

थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए।

विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए । नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन् ।

सबै विवरण नक्कली भएको आशंकामा गाविस सचिव खतिवडाले स्थानीय प्रशासनमा माघ ४ गते उजुरी गरेपछि स्थानीय प्रशाासनले सबैलाई बोलाएर जारी गरिएको नागरिकता र राहदानी जफत गरि हिरासतमा लिएको सहायक प्रजिअ लिलाधर अधिकारीले बताए ।

यसै गरि झुटो विवरण दिई वंशजको नागरिकता लिने लापा–३, घीउवाङ्गमा विवाह गरेर आएकी ३५ वर्षीय भारतीय युवती कौडीमाया विश्वकर्मा राल्टेलाई पनि स्थानीय प्रशाासनले पुर्पक्षका लागी थुनामा राखेको छ ।

नीज युवतीलाई श्रीमान दुर्गबहादुर विकले आफ्नै मामा भक्तबहादुर विककी छोरी हुन भनेर सिफारिस गराई अंगीकृत नागरिकताको साटो वंशजको नागरिकता दिलाएका थिए । स्थानीय प्रशासनले दुवैजनालाई हिरासतमा लिई श्रीमान दुर्गबहादुर लाई ७५ हजार धरौटीमा मुक्त गरेको छ भने धरौटी राख्न नसक्दा कौडीमायालाई पुर्पक्षका लागि थुनामा राखेको छ ।

स्थानीय प्रशासनले उक्त मुद्धामा झुटो सिफारिस गर्ने लापा गाविस सचिव सञ्जित गहतराज र गाविस कार्यालय सहायक कुमार तामाङलाई समेत प्रतिवादी बनाइएको स्थानीय प्रशासनले जनाएको  कान्तिपुर दैनिकमा खबर छ ।