चिसोले उत्तरी धादिङको जनजीवन प्रभावित-शुक्रवार देखि जिल्लाभर चिसो बढ्यो

1910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aago-tapdai-धादिङ । केही दिनयता धादिङ जिल्लाको उत्तरी भेगका  बस्तीमा चिसो निकै बढेको छ । अधिकांश समय चिसो मौसम रहने यहाँका बस्तीमा  हिमपातका कारण जनजीवन प्रभावित हुन पुगेको हो ।
जिल्लाको विकटमा रहेको तिप्लिङ, सेर्तुङ झार्लाङ, री र लापा गाविसका माथिल्लो भेगमा पानी पर्नुका साथै हिमपात भएपछि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
गत वर्षको वैशाख १२ को विनाशकारी भूकम्पले घर ध्वस्त बनाएपछि उत्तरी धादिङका अधिकांश वासिन्दा अहिलेसम्म पनि अस्थायी टहरोमा बस्दै आइरहेका छन् । नाममात्रको अस्थायी टहरामा बसेर कष्टकर जीवन बिताउनुको पीडामा रहेका भूकम्पपीडितहरुलाई हिमपातपछिको चिसोले झनै समस्या थपिदिएको छ।
भूकम्प प्रभावितलाई हिमपात र वर्षाका कारण अत्यधिक बढेको चिसोले सताउन थालेपछि जनजीवन कष्टकर बन्न पुगेको हो । चिसो बढेसँगै विकट हिमाली गाविसका बस्तीहरुमा वृद्धवृद्धा, अशक्त, अपाङ्ग, सुत्केरी एवम् गर्भवती महिला तथा ससाना बालबालिका निकै प्रभावित हुन पुगेका छन । हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण खोकी लाग्ने, पेट दुख्ने, रुघा लाग्ने, टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापर्न सक्ने स्वास्थ्यकर्मीहरुले वताएका छन । दुई दिन यता जिल्लाको उत्तरी भेगमा मात्रै होइन जिल्लाभरनै चिसो निकै बढेको छ । शुक्रवार विहानै देखि जिल्लाको अधिकांश स्थानमा पानी परेपछि चिसो बढेको हो ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबार साँझ देखि मौसम बदली हुदाँ शुक्रबार विहानदेखिनै देशभर बर्षा भएको छ । अहिले काठमाडौं उपत्यका देखि पश्चिमी क्षेत्रमा निरन्तर पानी परी रहेको थियो ।
शुक्रवार दिनभर मौषम बदली भई वर्षा पुर्वतर्फ सर्दै  उच्च हिमाली भेगमा हिमपात भएको थियो । हिमपात र पानी पर्दा  चिसो बढेको छ तर क्रमिक रुपमा तापक्रम बढ्दै जाने मौसमविद्ले बताएका छन् । 
शनिबारदेखि क्रमिक रुपमा मौसम सुधार हुदाँ तापक्रम बड्ने र जाडो हट्ने जल तथा मौसम विज्ञान विभागले पूर्वनुमान गरेको छ । पश्चिम नेपालबाट वदली शुरु भएको मौसम पुर्वी भेगमा बदली हुँदै जाने कार्यालयको पुर्वनुमान छ । ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने छ ।
आइतबारदेखि घाम लाग्ने र अधिकतम तापक्रम घट्ने न्युनतम तापक्रम बढ्ने छ । बिहिबार बिहानको न्युनतम तापक्रम ९.४ डिग्री सेल्सीयस रहेको थियो । यो बर्ष माघ १ गते बर्षकै चिसो हुदाँ उपत्यकामा शुन्य दशमलव चार डिग्री सेल्सीयस रहेको थियो ।