निजी औषधि पसलमा ९० रुपियाँ पर्ने औषधि अब एघार रुपियाँमै

677 पटक पढिएको

सम्पादक: Dhading News

download (1)काठमान्डौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालनमा ल्याएको छ ।  गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने आदेश जारी गरेपछि सरकारी अस्पतालले फार्मेसी  राख्न सुरु गरेका हुन् ।  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले सोमबारबाट विधिवत् रूपमा अस्पतालको छुट्टै फार्मेसी सञ्चालन गरेको जानकारी दिए।

 उनले सरकारले उपलब्ध गराएको बीउ पुँजीबाट फार्मेसी सञ्चालन गरिएको जानकारी दिँदै बाहिर निजी फार्मेसीले बेच्ने मूल्यभन्दा पाँच गुणासम्म कममा औषधि बिक्री गर्न सकिने बताए।  अन्य औषधिमा पनि बाहिरभन्दा २० प्रतिशतसम्म छुटमा औषधि बिक्री गर्न सकिने भन्दै डा. श्रेष्ठले सार्वजनिक खरिद ऐन अन्तर्गत टेन्डरमार्फत औषधि लिएको बताए। टेन्डरमार्फत औषधि लिँदा धेरै कम  मूल्यमा औषधि बेच्न सकिन्छ, निर्देशक डा. श्रेष्ठले अस्पतालको फार्मेसीमा नेपाल सरकारले सूचिकृत गरेका सम्पूर्ण औषधि पाइने बताए।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क गर्नुपर्ने सम्पूर्ण औषधि फार्मेसी अन्तर्गतको छुट्टै शाखाबाट वितरण गरिने जानकारी दिँदै हाललाई छ जना जनशक्तिको व्यवस्था गरेर फार्मेसी सञ्चालनमा ल्याइएको बताए। अहिले निजी औषधि पसलमा ९० रुपियाँ पर्ने आईभी क्यानोलालाई टेन्डरमार्फत् लिँदा अस्पतालले ११ रुपियाँमा बिक्री गर्दा पनि फाइदा हुने उदाहरण दिँदै उनले अन्य सर्जिकलका सामान र औषधि पनि कम मूल्यमा बिक्री गरिने बताए। आजको गोरखापत्रदैनिकमा खबर छ।