प्रेस चौतारीद्वारा चार पुरस्कार घोषणा

972 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

9572828105_pc_ng

काठमाडौं । प्रेस चौतारी नेपालले चार पुरस्कार घोषणा गरेको छ । १९ औं स्थापना दिवसमा राजधानीमा शनिबार भएको कार्यक्रममा चौतारी अध्यक्ष गणेश बस्नेतले पुरस्कार घोषणा गरेका हुन् । उनका अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार स्तम्भ लेखक कृष्णमुरारी भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले संयोजकत्वको पुरस्कार सिफारिस समितिको सिफारिसमा भण्डारीलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । यसैगरी अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार रेडियो पत्रकार रघु मैनाली, वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका वीरगन्ज संवाददाता भूषण यादव र नेपाल टेलिभिजनका दोलखा संवाददाता मन्दिरा थापा तथा डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका नेपालगन्ज ब्यूरो प्रमुख जनक नेपाल र नागरिक दैनिकका धनकुटा संवाददाता सिद्धराज राईलाई प्रदान गरिने भएको छ ।
चारवटै पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ३ तारिखमा वितरण गर्ने चौतारीले जनाएको छ ।

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले प्रेस चौतारीका संस्थापक अध्यक्ष विजय चालिसे तथा पूर्वअध्यक्षहरु गोपाल थपलिया, शम्भू श्रेष्ठ, बालकृष्ण चापागाईं, गगन थापा र राजेन्द्र अर्याललाई सम्मान गरे । चौतारी स्थापनाको भूमिका खेल्ने एमाले नेता प्रदीप नेपाललाई पनि कार्यक्रममा सम्मान गरियो ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाल पत्रकार महासंघको योगदान खास समयमा रहेको भन्दै आफ्नो पार्टी पेसागत संगठनलाई राजनीतिबाट टाढै राख्ने पक्षमा रहेको उल्लेख गरे । कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, एमाले प्रचार विभाग सचिव विष्णु रिजाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, मधेस मिडिया हाउसका अध्यक्ष राजेश अहिराजलगायतले सम्बोधन गरे । प्रेस चौतारीले आफ्नो १९ औं स्थापना दिवस देशभर विविध कार्यक्रम गरी मनाएको महासचिव राजेश राईले जानकारी दिए ।