डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

887 पटक पढिएको

९ फाल्गुन २०७३, सोमबार ०६:५४ सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौँ- डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आईतबार एक भारतीय नागरिक पक्राउ परेका छन्।

एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट आईतबार मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन्। भन्सार जाँचका क्रममा आधा/आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिए।

पक्राउ परेका कश्यप भारतको अहमदावाद निवासी भए पनि हाल दुबईमा बस्दै आएका थिए। उनी युएईको राहदानीबाहक हुन् । हिन्दी, अङ्ग्रेजीका साथै नेपालीसमेत बोल्न जान्ने कश्यप यसअघि पनि नेपालमा सुन तस्करीमा संलग्न भएको अनुमान गरिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाइएको सापकोटाले बताए। यसअघि गत पुस २१ गते भन्सार छलेको करिब साढे ३३ किलो सुनसहित तीन जनालाई प्रहरीले विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो। रासस