जयबागेश्वरी क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको तालाबन्दी

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फाल्गुन १८, २०७३- धादिङको मलेखुस्थित जयबागेश्वरी क्याम्पस मा झडप भएको छ । उम्मेदवारको आडमा क्याम्पस परिसर भित्र जबरजस्ति बाहिरी मान्छेहरु प्रवेश गर्न खोजेपछि बढेको विवाद साम्य नहुंदा झडपको स्थिति सिर्जना भएको हो । क्याम्पस गेटबाट भित्र छिर्न लागेका उम्मेदवार  लगायतका अन्य व्यक्तिहरु माथि  ढुङ्गामुढा भएपछि संयुक्त प्यानलका उम्मेदवार सुष्मिता रुपाखेती लगायत चारजना सख्त घाइते भएका वताईएको छ ।  जयबागेश्वरी क्याम्पस मुख्य ढोकाबाट भित्र पस्दै गरेकी नेविसंघ र अखिल (क्रान्तिकारी)को प्यानलबाट अध्यक्ष पदकी प्रत्यासी सुस्मिता तामाङ, सदस्य सुजाता भट्ट, अखिल (क्रान्तिकारी)का रामशरण वोराङ्ग / पार्वती सेढाईं घाइते भएको संयुक्त प्यानलले जनाएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी सुजातासहित सबैलाई उपचारार्थ व्लुक्रस नर्सिङ्ग अस्पताल, काठमाडौं पठाइएको छ ।

नेकपा एमालेको पकड क्षेत्र रहेका कारण  संयुक्त प्यानलले एमालेलाई झडपको आरोप लगाएको छ । आफ्ना उम्मेदवारमाथि ढुंगा प्रहार भएको आरोप नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले आरोप लगाएका छन् । भिडन्तलगत्तै जिल्ला सदरमुकामबाट सशस्त्र र जनपद प्रहरी पुगेको थियो । ‘अहिले स्थिति नियन्त्रणमा छ’ जिल्ला प्रहरी प्रमुख शरदकुमार खत्रीले बताए । झडपपछि नेविसंघको संयुक्त प्यानलले क्याम्पसमा तालाबन्दी गरेको छ ।

वातावरण सहज बनाउन र थप भिडन्त रोक्न भन्दै अहिले जिल्लाका राजनैतिक दलका प्रमुखहरुको बैठक बसिरहेको छ । बैठकमा कांग्रेसका पूर्वसभापति एवं पूर्वसभासद रामनाथ अधिकारी, कांग्रेस अध्यक्ष रमेश धमला, नेकपा एमालेका अध्यक्ष भूमि त्रिपाठी र माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमरकटेल उपस्थित छन् ।यता निर्वाचन समितिले भने अर्को सूचना जारी नभए सम्मका लागि भन्दै निर्वाचन प्रकृया स्थगित भएको सूचना टांस गरेर निर्वाचन स्थगित गरेको छ ।