म्यादी प्रहरीमा युवाको आकर्षण,७५ हजार का लागि १ लाख ७२ हजार भिडे

1523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Myadi-prahari-1काठमाडौंः स्थानीय तह निर्वाचनका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीका लागि दुई गुणाभन्दा बढीको आवेदन परेको छ । सरकारले ७५ हजारको आवेदन माग गरेकोमा देशभरबाट १ लाख ७२ हजार ९ सय ७६ जनाको आवेदन परेको हो ।

नेपाल प्रहरीले म्यादी प्रहरीका लागि देशभरबाट चैत ११ गतेदेखि १८ गते बिहीबारसम्म आवेदन माग गरेको थियो । करिब ५५ दिन काम गर्न आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभर उत्साहपूर्ण ढंगले म्यादी प्रहरीमा आवेदन परेको हो ।

निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना अनुसार सरकारले देशभरबाट ७५ हजार म्यादी प्रहरीको भर्ना लिने जनाएको थियो । काठमाडौं महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका निकायबाट ७ हजार १ सय १२ जनाले आवेदन दिएका छन् ।

त्यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयअन्तर्गतका जिल्लाबाट ४४ हजार ६६ जनाले आवेदन दिएका छन् । मध्य क्षेत्र हेटौंडाअन्तर्गत ४२ हजार २ सय ७४ जना, पश्चिमाञ्चल पोखरा क्षेत्रिय प्रहरी कार्यालय मातहतका निकायबाट २७ हजार ८ सय ५७ जना, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतअन्तर्गतका जिल्लामा ३३ हजार ४ सय ३१ र सुदूरपश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय दीपायलअन्तर्गत १८ हजार २ सय ३६ जनाले आवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले शनिबारदेखि २२ गतेसम्म छनोट सकेर २२ गतेनै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म तालिम दिएर उनीहरुलाई निर्वाचनको सुरक्षामा खटाउने तयारी सरकारको छ नेपाल तारामा खबर छ ।