प्रहरीकै संलग्नतामा ६४ तोला सुन लुटपाट.६ जना पक्राउ
713 पटक पढिएको
काठमाडौं: मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ । घटनामा संलग्न छ जनालाई पक्राउ गरी अाइतबार महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। तीन जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए।
महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पक्राउ परेका छन् भने सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल भने फरार रहेका छन्। मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घर भएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानाबाट शुक्रबार आठ जनाको सङ्ख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई लुटपाट गरेका थिए।
कारखानामा कार्यरत ६ जना कामदारलाई नियन्त्रणमा लिई कारखानामा गहना बनाउन ल्याइएको विभिन्न सुनका गरगहना ६४ तोला, नगद रु १३ हजार र मोबाइल चार थानसमेत लुटपाट गरेका थिए। महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट शनिबार पक्राउ गरी डाका मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि अाइतबार महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ।
प्रहरीले काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका सवारी चालक राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ भन्ने सुन्दर तामाङ, डान्सबारमा बाउन्सरको काम गर्ने ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ भने फरार रहेका छन्।
लुटपाट गर्दा ६ जनासँगै गएका थिए भने अन्य दुई जना तल ढोकामा मान्छे हेर्न बसेको प्रहरीले जनाएको छ। सुन लुटपाट गर्ने स्थानमा लुटपाट गर्न जाने सबैले लुटपाट गरेको सामान आ–आफ्नो गोजीमा राखेका थिए । घटनापश्चात् सामान लिएर सबै जना सोह्रखुट्टेस्थित बन्दै गरेको भवनमा गई आफूले लगेको सामान निकाली रुमालमा पोको पारी देव भन्ने सुन्दर तामाङलाई राख्न दिएका थिए ।
शनिबार दिउँसो सामान बिक्री गर्न भनी योजना बनाउँदै गरेका अवस्थामा सोह्रखुट्टेस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको महाशाखाका प्रमुख अमात्यले जानकारी दिए। रासस