स्थानीय तहमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ ले मतदान गर्न पाउने

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

local-election-24032017094457-1000x0आगामी स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

उक्त संख्या गत २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुको हो । कानुनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलनमा रोक लगाएको छ । सरकारले गत फागुन ९ मा आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको घोषणा गरेको थियो ।

आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार आयोगको बैठकले मतादाता नामावलीलाई अन्तिम रुप दिने (स्वीकृत गर्ने) निर्णय गरेको हो । आयोगले बनाएको कार्यसूचीमा चैत २० गत मतदाता नामावलीलाई टुंग्याउने उल्लेख भएकामा उक्त काम तोकिएको दिनमै भएको छ ।

प्रवक्ता शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रो लिंगी मतदाता १ सय ४३ छन् ।

साढे तीन वर्षअघि २०७० मसिंर ४ मा भएको संविधानसभा निर्वाचनको समय भन्दा अहिले मतदाताको संख्या  १९ लाखले बढेको छ । त्यतीखेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए । त्यसभन्दा अगाडि ०६४ सालको निर्वाचनको समयमा १ करोड ७७ लाख मतदाता थिए ।

आयोगले ०६७ देखि फोटोसहितको मतदाता नामावली तयार गर्न थालेको हो । त्यसयता एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा रहने विषयले नियन्त्रण पाएको छ ।

आयोगको मतदाता नामावली शाखा प्रमुख उपसचिव चन्द्रबहादुर शिवाकोटीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी यसवर्ष कात्तिकदेखि माघसम्म देशैभर मतदाता नामावली संकलनका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको बताए । कात्तिक र मसिंर महिनामा हिमाली २१ जिल्लामा तथा बाँकी ५४ जिल्लामा मसिंरदेखि माघसम्म गाउँस्तरमा प्रतिनिधी खटाएर मतदाता नामावली संकलन गरिएको उनले जानकारी दिए ।

त्यसबाहेक वर्षैभरी जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलन गरिएको उनले बताए । ‘दाबी बिरोध नाम सच्याउने जस्ता सबै प्रक्रिया पूरा गरेर अन्तिम नामावली तयार गरिएको हो,’ उनले भने ‘पुन: संरचनापछिको नयाँ ठेगाना अनुसार मतदाताको ठेगाना मिलान गरिएको छ ।’

स्थानीय तह पुन: संरचना सम्बन्धी विवरण ढिलो गरी प्राप्त गरेकाले नामावलीलाई टुंग्याउन केही ढिला भएको आयोगले जनाएको छ । सरकारले फागुन २७ बाट ७४४ स्थानीय तह कायम गरेपछि सबै मतदाताको ठेगाना परिवर्तित भएका हो । आयोगले फागुन ८ भित्रै पुन: संरचना प्रतिवेदन मागेमा फागुन अन्तिममा मात्रै पाएको थियो ।

प्रवक्ता शर्माले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको बताए । अब मतदाता नामावली कुनैपनि ठाउँमा ठाउँसारी नहुने तथा नयाँ नाम दर्ता गरिने छैन ।

७५ जिल्लाकै स्विकृत मतदाता नामावली छपाई सुरु भइसकेको प्रवक्ता शर्माले जानकारी दिए । मतदाता नामावली टुंगिएसँगै मतदाता परिचय पत्रपनि छापिने छ । परिचय पत्र छाप्ने जिम्मा पाएको एक निजी कम्पनीले आफ्नो सबै ‘सेट अप’ आयोग परिसरमा मिलाइ सकेको छ । प्रवक्ता शर्माले सोमबारबाट परिचयपत्र पनि छाप्न सुरु गरिने बताए ।

मतदाता नामावली र परिचयपत्र छपाई गरी बैशाख १० भित्र सबै जिल्लामा पुर्याइसक्ने आयोगले लक्ष्य राखेको छ । तराईका ६ जिल्लाको मतदान केन्द्र टुंग्याउन बाँकी रहेकाले ती बाहेक ६८ जिल्लाको मतदाता नामावली मतदान केन्द्र अनुसार आयोगले व्यवस्थित गरिसकेको छ । सबैतिरको मतदान केन्द्र पुन: निर्धारणको काम सम्पन्न भएपछि फोटो सहितको मतदाता नामावलीलाई  वेवसाइट मार्फत सार्वजनिक गरिन शर्माले जानकारी दिए इकान्तिपुरमा खबर छ ।