निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा जाँचमा कडाइ

499 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ- स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनले विभिन्न सुरक्षा योजना अघि सारेको छ । स्थानीय प्रशासनले विगतका निर्वाचनमा बुथ कब्जा, हूलदंगा र भिडन्तका घटना भएका मतदान केन्द्रको सूची तयार गरी विशेष सुरक्षा योजना अघि सारेको हो ।

‘जिल्लामा यसअघिका निर्वाचन गतिविधिका अनुभव आधारमा ११ वटा मतदान केन्द्र अति संवेदनशील र २ वटा संवेदनशील सूचीमा राखेका छौं । विगतका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएका छौं’, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जिल्लाका उत्तरी भेक दार्खा, सत्यदेवी, सेर्तुङ र दक्षिणी भेकका ४ वटा निर्वाचन स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । पूर्वगृहमन्त्री बुद्धिमान तामाङको घर रहेको सेर्तुङको वोराङस्थित मतदान केन्द्र पञ्चायतताका देखि नै कब्जा हुने मतदान केन्द्र हो ।

‘उक्त मतदान केन्द्रमा कैयन् निर्वाचनमा मतदाताहरूले स्वतन्त्र रूपले मतदान गर्न पाएका छैनन् । काठमाडौंबाटै हतियारधारी जत्था आएर भिडन्त हुने गरेको छ,’ प्रजिअले राखेको स्थानीय निर्वाचन लक्षित सर्वदलीय बैठकमा एक सहभागीले बताए । उत्तरी भेकको निर्वाचन सुरक्षार्थ झार्लाङ र दार्खाको सिमानामा सशस्त्र र नेपाल प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको छ । सेनाको गजुरीस्थित कर्णेल भरत बुढाथोकीको कमान्डमा उत्तरी भेकका सबै गाउँपालिकामा पुगेर सुरक्षा योजना तयार भइसकेको प्रजिअ ढकालले बताए ।

‘मतदाताले सुरक्षित र भयरहित तवरले मतदानमा भाग लिने वातावरण तयार गर्न निर्वाचन बुथमा म्यादी र प्रहरी, त्यसबाहिर सशस्त्र र त्यस बाहिर सेनाको टोलीले सुरक्षा दिनेछन् । थप सुरक्षार्थ हवाई गस्तीसमेत हुने व्यवस्था मिलाएका छौं,’ प्रजिअ ढकालले बताए । विभिन्न हत्या अभियोगमा फरार अपराधीहरूले गाउँबस्तीमा ठेकेदार, संघसंस्थाका प्रतिनिधि, उम्मेदवारहरूसँग रकम असुली गरेको गुनासो आएको छ भन्दै फरार अपराधीहरू पक्राउ गर्न पनि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

उत्तरी भेकमा साना हतियार भित्रिन सक्ने सम्भावनालाई ख्याल गर्दै विभिन्न स्थानमा कडाइसाथ सुरक्षा जाँच गरिने व्यवस्था मिलाएको प्रहरीले बताएको छ । ‘सदरमुकाम पस्ने नाकाहरू फुर्के खोला पुछार बजार र नुवाकोट र धादिङबाट जिल्लाका उत्तरी भेकमा पस्ने सबै नाकामा सुरक्षा जाँचमा कडाइ गरिएको छ,’ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले बताए इकान्तिपुरमा खबर छ ।