नारायणगढ मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा
1398 पटक पढिएको
मुग्लिन-नारायणघाट सडक खण्डको कालीखोलामा झरेको पहिरोका कारण बिहीबार रातिदेखि भएको सडक अवरुद्ध शुक्रबार साँझ ६:२० बजे खुलेको छ ।
सडक सञ्चालन नहुँदा सयौं गाडीका हजारौं यात्रीहरु बाटोमा अलपत्र परेका थिए । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको थियो ।
केही सुरक्षाकर्मी भने वेपत्ता प्रहरीहरुको खोजीमा पनि लागेका छन् । राति काली खोलाको पहिरोले बगाएर इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा पुर्याएको थियो । प्रहरी गाडीमा सवार असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको थियो । उनीहरुको शव निकालिसकेको छ । प्रहरी सञ्जीव कार्की र लीलबहादुर चेपाङको भने खोजी भइरहेको मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए ।
वेपत्ताको खोजीमा तीनवटा डुंगा परिचालन गरिएको इकान्तिपुरमा खबर छ ।