अवैध रूपमा बालुवा निकाल्न खाेज्दा त्रिशुली नदीमा एक बेपत्ता

1043 पटक पढिएको

२० भाद्र २०७४, मंगलवार १३:५८ सम्पादक: धादिङ न्यूज

 
 Photo--Baluwa nikalna prayog garieko Dozer

नुवाकोट भदौ २० – नुवाकोटको बेलकोटगढी नगरपालिका ७ स्थित त्रिशुली नदीमा अवैध रुपमा बालुवा निकाल्न खोज्दा स्काभेटर भासिएर एक जना बेपत्ता भएका छन् । रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने क्रममा धादिङका २९ वर्षीय सुरेश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

“नदीमा भासिएको स्काभेटरको ढोकामा प्रयोग गरिएको शिसा फुटेको अवस्थामा भेटिएको छ,” जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले  भने, “स्काभेटर नदीमा भासिदा निस्सासिएर झ्याल फुटाएर भाग्न खोज्दा नदीले बगाएर बेपत्ता भएको अनुमान छ । हराएकाको खोजी कार्य भइरहेको छ ।” रातको समयमा जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालीले बालुवा निकाल्ने कार्य गरेकोले सञ्चालकसँग सोधबुझ भइरहेको प्रहरीले जनाएको छ।

त्रिशुली नदीबाट अबैध बालुवा निकाल्दा हराउनेहरूको सङ्ख्या बढ्दै जाँदा समेत नियन्त्रण गर्ने निकाय मौन छ । त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी सलाखु, फलाखु नदीबाट रातको समयमा स्काभेक्टर प्रयोग गरी बालुवा उत्खनन् गर्ने गरिएको छ।