९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गर्दै ग्रामीण विकास

1035 पटक पढिएको

सम्पादक: Dhading News

 

 3adde210256216811105c25eea5951b8नेपाल ग्रामीण विकास बैंकले आगामी मंगलबारदेखि ९ लाख ७५ हजार कित्ता एफपीओ (थप धितोपत्र) निष्कासन गर्ने भएको छ । बैंकले सार्वजनिक रूपमा निष्कासन गर्ने साधारण धितोपत्र (आईपीओ) कै मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो कारोवार डेलि कममा समाचार छ ।

बैंकले १ सय रुपैयाँ प्रतिसेयरका दरले ९ करोड ७५ लाख रुपैयाँबराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीयस्तरका पाँचवटा विकास बैंक मर्ज भई बनेको राष्ट्रियस्तरको लघुवित्त विकास बैंकको रूपमा यो बैंकले रूपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहने गरी २०७१ साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

सेयर बजारको इतिहासमै सम्भवत पहिलो पटक ग्रामीण विकास बैंकले आईपीओकै मूल्यमा एफपीओ निष्कासन गर्न थालेपछि सेयर बजारमा हलचल मच्चिएको छ । गत साउन १८ गते यो बैंकको प्रतिकित्ता सेयर मूल्य १ हजार ४९ रुपैयाँ पुगेको थियो ।

त्यसपछि लगातार घट्दै गई भदौ ७ गते ७ सय ६० रुपैयाँमा झरेको बजार त्यसपछि भने केही उकालो लागेर भदौ ८ मा ७ सय ९६ रुपैयाँमा कारोबार भएकोमा पछिल्लो समय भने यसको मूल्य ७ सयदेखि ८ सय रुपैयाँ तल नै सेयर बजारमा कारोबार भइरहेको छ ।

गत सोमबार ७ सय ३२ रुपैयाँमा कारोबार हुँदा बुधबार अन्तिम मूल्य ७ सय ३४ पुगेको थियो । यसअघि विभिन्न बैंक वित्तीय संस्था एवं कम्पनीहरूले एफपिओ जारी गर्दा प्रतिसेयर अंकित मूल्यमा प्रिमियम थप गरी शेयर निस्कासन गर्ने गरेकोमा यो बैंकले आईपीओको मूल्यमै एफपीओ जारी गर्ने तयारी अन्तिम चरणमा पु¥याएपछि सर्वत्र चासोको विषय बनेको छ । बैंकले एफपीओ निस्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त  गरेको छ ।

सेयरमा लगानी गर्न चाहने सर्वसाधारणले भदौ २७ गतेदेखि छिटोमा ३० गतेसम्ममा र ढिलोमा असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि भने डी म्याट खाता अनिवार्य छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति लिएका सबै वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थामा यो बैंकको सेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

न्यूनतम ५० देखि अधिकतम ४ हजार ८ सय ७० कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने बैंकका अधिकृत मधुसूधन पोखरेलले बताए । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको कम्तीमा ३० प्रतिशत सेयर लगानी हुनै पर्ने नीति बनाएपछि बैंकले एफपीओ निष्कासन गर्न लागेको हो ।

अहिले बैंकमा सर्वसाधारणको १७ दशमलव ८७ प्रतिशत मात्रै सेयर लगानी छ भने सबैभन्दा बढी नेपाल सरकारको ३५ दशमलव ४४ प्रतिशत सेयर छ । त्यसैगरी अन्य प्रमुख  सेयरधनीमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाडौं छन् ।

नेपाल सरकार, राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको संस्थागत लगानी ८२ दशमलव १३ प्रतिशत छ ।   चुक्ता पुँजी ५५ करोड ७५ लाख रूपैयाँ रहेको ग्रामीण विकास बैंकको एफपीओमार्फत ९ करोड ७५ लाख रुपैयाँ पुँजी थप भएपछि कुल चुक्ता पुँजी ६५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले २५ करोड ८६ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोे थियो ।

बैंकको अधिकृत पुँजी अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ६५ करोड ५० लाख र चुक्ता पुँजी ५५ करोड ७५ लाख छ भने कर्जा प्रवाहतर्फ ७ अर्ब ७२ करोड र बचततर्फ २ अर्ब २६ करोड रकम निक्षेप छ । चालू आर्थिक वर्षमा बैंकले थप ७ वटा जिल्लामा थप ७ वटा शाखा कार्यालयमार्फत कार्यक्रम विस्तार गरी ६० जिल्लाको १ सय ९९ शाखा कार्यालयबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।