उम्मेदवार र प्रतिनिधिले मतगणनामा मतपत्र छुन नपाउने
686 पटक पढिएको
सम्पादक: Dhading News
काठमाडौं–निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना ४ दिन भित्र सक्ने गरी तयारी गरेको जनाएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका निर्वाचन आयुक्त इश्वरीप्रसाद दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था मिलाएको जानकारी दिएका हुन् । यसका लागि आयोगले शिक्षक बाहेकका सरकारी कर्मचारी र मत गणनास्थलको तयारी समेत गरेको जनाएको छ । कर्मचारीहरु बीच २४ घण्टामा ७ घण्टाका दरले ३ सिफ्ट बनाएर मतगणना गरिने आयूक्त पौड्यालले बताए । ८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य रहेको उनले बताए जनसवाल दैनिकले खबर लेखेको छ ।
आयोगले प्रतिनिधीसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैसाथ गर्ने बताएको छ । तर एकैचोटी गन्न संभव नभए पहिला प्रत्यक्षतर्फको र त्यसपछि समानुपातिकतर्फको मतगणना गर्न सक्ने गरी मूख्य निर्वाचन आधिकारीलाई अधिकारसमेत दिएको छ । स्थान, समय र कर्मचारीको अभाव भएमा समानुपातिकतर्फको मतगणना पछाडि गरिने भएको हो । मतदाताको संख्या हेरी मतगणनामको २४ घण्टाभित्र परिणाम नआए थप कर्मचरी ब्यवस्थापन गरिने आयोगले जनाएको छ ।
गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मतगणना २१ गते ५ बजे पछि शूरु हुने आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको मतगणना भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबिच सहमती भएपछि मात्र शुरु गरिने भएको छ ।
आयोगले मतगणना स्थलमा सुरक्षा ब्यवस्था कडा गर्ने भएको छ । मतगणना स्थलमा प्रवेश गर्ने कसैलाई पनि सलाई, लाइटर, एसिडजस्ता सामग्री वा अन्य घातक समान लान रोक लगाएको छ । यस्तै मतगणना स्थलमा प्रवेश पाएका मध्ये मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, तथा सुरक्षा निकायका प्रमुख बाहेक अरुलाई मोबाइल फोन, क्यामरा, अडियो तथा भिडियो खिच्ने उपकरण लैजान निषेध गर्ने जनाएको छ ।
मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधी र मतगणक बस्ने स्थलको निश्चित दुरी बनाउने, दुई पक्षका बिचमा टेबुल, बेन्त, डेस्क, डोरी वा अन्य प्रकारका छेकबार राखिने तयारी छ । मतगणना स्थलमा उम्मेदवार, निर्वाचन प्रतिनिधी र मतगणना प्रतिनिधीले कुनै पनि हालतमा मतपत्र छुन नपाउने गरी छेकबार राख्ने र उच्च सुरक्षा प्रबन्ध मिलाउने आयोगले जनाएको छ । मतगणना स्थलमा सिसीटिभी समेत जडान गरिने भएको छ ।
मतगणना कार्य छिटो र विवादरहित रुपमा सक्न आयोगका लागि केही चुनौती समेत रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा भरतपुर १९ को मतपत्र च्यातिएपछि आयोग समेत विवादमा तानिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयुक्त पौड्यालले झिनो मतान्तरले उम्मेदवारबीच जित हार हुँदा राजनीतिक दलबीच तनाव हुने खतरा रहेको औंल्याँउदै यसप्रति सर्तक भएर आयोगले काम गर्ने बताए । ४ वटा मतपत्र एकैपटक गन्नुपर्दा कर्मचारी र समय ब्यवस्थापनमा पनि आयोगलाई केही चुनौती थपिने देखिएको छ ।
निर्वाचन व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा ः आयोग
काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ, दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन्, सबै कर्मचारी केन्द्रमा पुगी आजैदेखि परिचयपत्र वितरण पनि शुरु भएको छ’– उनले भने ।
मतदान केन्द्रमा पुगेका अधिकृतसहितका कर्मचारीले मतदान गर्ने योजना निर्माण, वृद्ध, महिलालगायत अशक्तलाई राख्ने स्थललगायतको व्यवस्थापनका काम पनि शुरु भएको आयोगले जनाएको छ । हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाइएको छ । मतदाता शिक्षा कार्यकर्ताले आजदेखि मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मत संकेत गर्न सिकाउन शुरु गरेका छन् ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस पटकको निर्वाचनमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वा्चित हुने प्रणाली र समानुपातिकतर्फको सक्कली मतपत्रकै नमुनालाई आयोगको वेबसाइटमा राखेर राजनीतिक दल, उम्मेदवार वा कार्यकर्तालाई सहजरुपमा उपलब्ध गराएको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।