त्रिशूली नदीमा मिसाईन्छ ढल र शौचालय

2498 पटक पढिएको

सम्पादक: Dhading News

केशव अधिकारी
धादिङ – मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरुले चासो व्यक्त गर्न थालेका छन । जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा परिरहेको भएपनि दुई साता यता भने त्रिशूली नदीको पानी सफा वगिरहेको छ । नदी छेउमा बढ्दै गएको अव्यवस्थित वस्ती,अवैध खानी तथा वालुवा प्रशोधित उद्योगका कारण नदीमा प्रदुषण बढेको हो ।
जल सम्पदामा विश्वकै दोश्रो धनी देश नेपालमा नदी संरक्षण नीति नभएका कारण नदी अतिक्रमण, प्रदुषण तथा विनाशका कार्यहरु हुने गरेको भन्दै सरोकारवालाहरुले नदी संरक्षण नीति ल्याउन सरोकारवालहरुले सरकारलाई दवाव दिदैं आएका छन ।
नेपालमा भएका करिव छ हजार नदीनालाहरु मध्ये अधिकांश ठुला नदीहरु पर्यटकीय हिसावले र अन्य खोलाहरु वतावरणीय हिसावले महत्वपुर्ण रहेपनि ती नदी तथा खोला संरक्षण गर्न नीति आवश्यक रहेको नदी संरक्षण अभियानकमिर्हरुको भनाई छ ।

धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा रहेका वजार तथा अन्य बस्तिहरुबाट  नदी र खोलामा मिसाइएको ढल र शौचालयले दुर्गन्ध बढेको छ । बजार क्षेत्रमा बनाइएका घरहरुमा बनाइएका शौचालय सिधै खोलामा हाल्दा र ढलसमेत नदीमा मिसाउँदा प्रदूषण मात्र नभई नदी र खोलाको आकर्षणमा समेत कमी आएको छ ।

नदी संरक्षण र यसको सुन्दरता बचाएर पर्यटक भित्र्याउन सके बर्षेनी लाखौं रुपैया आम्दानी लिन सकिने त्रिशूली नदी केही दिन यता सङ्लिएर वग्न थालेपनि नदी छेउका घरबस्ती वाट निस्किएको फोहोर विसर्जनको विकल्प नहुंदा नदीमा प्रदुषण बढ्न पुगेको हो ।

त्रिशूली नदीमा र थोपल खोला आसपासमा पालिएका बङ्गुरबाट उत्सर्जित फोहरसमेत सोझै पानीमा मिसाइदिएकाले गर्दा पानी अत्यन्त फोहर हुने गरेको छ । र यस्का सहायक खोलाहरु मलेखु, थोपल,आग्रा, महेश खोलामा मिसाईने प्रदुषणको मार पनि त्रिशूली नदीले थेग्नु पर्ने अवस्था रहेको छ । नदी र खोलामा हरेक खालका फोहोर मिसाईदिंदा यो पानीले नुहाउने मान्छेहरुमा छाला सम्वन्धि रोगहरु देखा पर्ने गरेको चिकित्सकहरु बताउँछन ।

 बालुवा प्रशोधन वन्द गरिएपछि त्यहाँबाट निस्किएको फोहोर  नदीमा नजांदा त्रिशूली नदी कन्चन भएर वग्न थालेपनि त्रिशूलीको पानीमा अझै पनि विभिन्न खाले प्रदुषण कायम रहेको छ । राजधानीलगायत स्थानबाट ल्याइएका फोहर रातीको समय पारेर फाल्नाले प्रदूषण बढिरहेको छ ।

नदी संरक्षण गर्न र अवैध रुपमा सञ्चालन भईरहेका क्रसर तथा वालुवा धुने फिरफिरे वन्द गरिएपनि नदी तथा खोला छेउका वस्तीबाट निस्किएको फोहोर व्यवस्थापन गर्ने तर्फ भने धेरैले चासो नदिंदा नदीमा घातक प्रदुषण बढ्दै गएको हो ।