भूकम्पको तीन वर्ष : २ लाख ३७ हजार गुनासा, ऋणमा डुब्दै भूकम्पपीडित

1193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे-बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ । तर, म किन छुटेँ ? ’ निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

भूकम्प गएको तीन वर्ष बित्नै लाग्दा पनि पीडित र प्रभावितबाट यस्ता गुसाना आउने क्रम रोकिएको छैन । प्राधिकरणले अहिलेसम्म २ लाख ३७ हजार गुनासा दर्ता नै गरेको छ । सरकारले अहिलेसम्म ८७ हजार घरपरिवारलाई तेस्रो किस्ता राहत रकम वितरण गरेको बताएको छ ।

भूकम्पबाट ६ लाख घर पूर्णरूपमा क्षति भएकामा हालसम्म ४ लाख १३ हजार १ सय ३५ घर निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, १ लाख १६ हजार ५ सय १७ घर बनिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार लाभग्राहीको संख्या दोलखामा मात्रै ६२ हजार ६ सय रहेकामा १९ हजार घर बने । ८३ हजार ७ सय लाभग्राही रहेको सिन्धुपाल्चोकमा ११ हजार ६३ मात्रै घर बने । ७२ हजार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा पनि ८ हजार मात्रै घर बनेका छन् ।

भवितव्यको तीन वर्ष बित्नै लाग्दा निजी घरको निर्माण सुस्त देखिन्छ । निर्माणाधीन घरको संख्या भने धेरै छ । तर, बनिसकेका घरको प्रकृति हेर्दा र भूकम्पपीडितको भनाइ सुन्दा अवस्था सन्तोषजनक छैन । कति घर बने भन्ने तथ्यांकसँगै कस्ता घर बने र बन्दै छन् भन्नेबारे लेखाजोखा आवश्यक रहेको आवाज सुनिन थालेको छ ।

हराउँदै मौलिकता

भूकम्प प्रभावित तीन जिल्लाका विभिन्न आधा दर्जन स्थानमा दुई कोठाका पक्की घर बनेका छन् । त्यसमाथि नीलो जस्तापाताको छाना जताजतै देखिन्छन् । टिनको छानाले रंगिएका गाउँ झट्ट हेर्दा नेपाली गाउँजस्तो देखिँदैन । पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति दोलखाका कार्यालय प्रमुख सागर आचार्य टिनको जस्तापाता १० वर्षपछि खियाले मक्किने बताउँछन् ।

तीन वर्ष बित्न लाग्दासमेत प्राधिकरणले तोकेको २३ नमुना घरबारे स्थानीय द्विविधामा छन् । पुरानो पुस्ता परम्परागत घर बनाउन र नयाँ पुस्ता पक्की घर बनाउन चाहन्छ । ग्रामीण सामग्री प्रयोग गरी घर बनाउँदा सरकारको अनुदान नपाइने हो कि भन्ने भय अझै देखियो । यही कारण पनि अति महँगो शुल्कमा इँटा र सिमेन्टका पक्की घर बनिरहेका छन् । घरवरपर प्रशस्त ढुंगा भए पनि फुटाउने मान्छे नभएको स्थानीयको भनाइ छ । दोलखा तामाकोसी गाउँपालिका-७ की अस्मिता मगर भन्छिन्, ‘ढुंगा त छ नि ! तर, दिनको १५ सय दिन्छु भन्दा पनि ढुंगा फुटाउने मान्छे छैन ।’

काठमाडौंमा १३ रुपैयाँमा पाइने इँटाको मूल्य वरपरकै जिल्ला पुर्‍याउँदा त्यसको मूल्य २४ रुपैयाँसम्म पुग्छ । दोलखाका भूकम्पपीडितले महोत्तरीबाट इँटा ढुवानी गरिरहेका छन् । सिन्धुपाल्चोक र काभ्रेका भूकम्पपीडित काठमाडौं र भक्तपुरबाट महँगो मूल्यमा इँटा खरिद गरिरहेका छन् । भूकम्प प्रभावित गाउँ पुग्दा साँझ अबेरसम्म महिला, बालबालिका तथा वृद्धवृद्धा थुन्चेमा इँटा बोकेर उकालो लागिरहेको दृश्य त सामान्य भइसकेको छ ।

सिन्धुपाल्चोक चौताराका ९५ वर्षीय कृष्णबहादुर श्रेष्ठ गाउँमा सिमेन्टका घर बन्न थालेकामा चिन्तित छन् । उनी भन्छन्, ‘पहिले खरको छाना हुन्थ्यो । त्यसपछि ढुंगाको छाना लगाइयो । सिमेन्टको छाना भूकम्पले भत्कायो । अहिले त जता पनि टिनको छाना मात्रै देख्छु ।’

गाउँमा रोजगारी, सहरमा बेरोजगारी

भूकम्पले श्रम क्षेत्रमा परिवर्तन गरायो । गाउँमै रोजगारी खुल्यो । तर विडम्बना, कामको खोजीमा सहर पस्ने युवाको ताँती भूकम्पपछिको तीन वर्षमा कम भएन । कति त बिदेसिए पनि । गाउँमा जनशक्ति अभावमा घर निर्माण अलपत्र पर्‍यो । निर्माण कार्यमा सुस्तता आउनुमा युवाशक्ति गाउँमा नहुनु पनि एउटा कारण रहेको विज्ञहरूको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक भुसाल पुनर्निर्माणका लागि वार्षिक १ लाख प्राविधिक उत्पादन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीसँग इलेक्ट्रिसियन छैन । प्लम्बिङ गर्ने मान्छे छैन । यो समस्या समाधान गर्नुपर्छ ।’ वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२÷७३ मा दोलखा, काभ्रे, सिन्धुपाल्चोकबाट क्रमशः २९१६ जना ५५५९ जना र ५२६९ जना युवा बिदेसिएका छन् ।

बरु सहरबाट गाउँ फर्किएका छन्- पाका डकर्मी । ३० औं वर्ष सहरमा मजदुरी गरेका उनीहरू भूकम्पपछि गाउँ फिरेका हुन् । उनीहरूले सहरमा सिकेको ज्ञान गाउँमा प्रयोग गरिरहेका छन् । मासिक २७ हजारका लागि युवा वैदेशिक रोजगारीमा जाँदा उनीहरूले गाउँमै मासिक ४० देखि ४५ हजार रुपैयाँ कमाइरहेका छन् । दोलखा जफेका ५८ वर्षीय केशव पोखरेल भन्छन्, ‘भूकम्प आएपछि हामी गाउँ आएका हौं । दिनको १५ सय रुपैयाँ कमाउँछौं ।’ सो क्षेत्रमा मात्रै सय जनाभन्दा बढी मजदुर भारत, मधेस र पश्चिम नेपालबाट पुगेका छन् । ती मजदुर दैनिक १ हजारदेखि १५ सयसम्म कमाउँछन् ।

साढे एक रुपैयाँ लिटर पानी

भूकम्प गएपछि गाउँमा पानीका मुहान सुके । खानेपानीको हाहाकार छ । कालिन्चोक र तामाकोसी गाउँपालिकामा पानीको समस्या छ । सिन्धुपाल्चोक चौतारामा पनि उस्तै छ । चौतारा नपा-६ का भूकम्पपीडित एक लिटर पानीलाई एक रुपैयाँ ५० पैसा तिर्न बाध्य छन् । स्थानीय भक्तबहादुर नेपाली भन्छन्, ‘पानी छैन । पानीबिनै घर अधकल्चो हुने भयो । एक लिटरको साढे एक रुपैयाँसम्म तिर्नुपरेको छ ।’ भोटेकोसीबाट पानी ढुवानी गरी सो गाउँमा पानी सशुल्क वितरण हुने गरेको उनीहरू बताउँछन् । भक्तबहादुर भन्छन्, ‘थोपा-थोपा पानी जम्मा गरेर डीपीसी ढलान गर्नुपरेको छ । साह्रै गाह्रो छ ।’

पहिलो किस्ताबापत पाएको पैसाले पानी किन्दै उनीहरू घरको जग बनाइरहेका छन् । जग नबनाउँदा पहिलो किस्ता फिर्ता गर्नुपर्ने भय, बनाउँदा पानीसमेत किन्नुपर्ने पिरलोमा छन्, उनीहरू । दोलखा तामाकोसीमा पनि उस्तै समस्या छ । ७ नम्बर वडा सदस्य हीराकुमारी सुनुवार भन्छिन्, ‘पानीको हाहाकार छ । घर बनाउनै समस्या छ ।’

ऋणमा डुब्दै भूकम्पपीडित

पहिलो र दोस्रो किस्ता पाउनेले ऋण गरेर घर बनाइरहेका छन् । अनुदान पाउन छुटेकाहरू पनि ऋणपान गरेर घर बनाइरहेका छन् । भूकम्पपीडितको सूचीमा कालिन्चोक-९ का भक्तबहादुरको नाम छैन । इन्जिनियरले पटक-पटक घर सर्भे गरे पनि उनी छुटे । उनले ऋण गरेर घर बनाए । ६ लाख ऋण लागेको उनले बताए । भने, ‘दुई पटक घर नापेर गयो । तर, पैसा पाइएन । त्यसपछि ऋण गरेर आफैँ घर बनाएँ ।’ ड्राइभिङ पेसा गर्ने उनी ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् ।