अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने

2380 पटक पढिएको

६ जेष्ठ २०७५, आईतवार १९:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं ६ जेठ, ।अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधान अनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए ।

उनका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछन् ।

जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकार अन्तर्गत हुने भएका छन् । ती छ वटा कार्यालयबाहेक अन्य कार्यालय स्थानीय तह अन्तर्गत मन्त्रालयले निर्देशन समेत दिइसकेको छ ।

प्रवक्ता अधिकारीले हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपछि स्थानीय तहको अधिकारमा जाने बताए ।

“अहिले स्थानीय तहले जग्गासम्बन्धी काम गर्न सक्ने अवस्था छैन” उनले भने, “त्यसैले तत्कालका लागि केन्द्र सरकार अन्तर्गत रहे पनि पछि स्थानीय सरकार मातहतमा जान्छन् ।”

उनले जिल्लामा रहने कार्यालय यथास्थितिमा सञ्चालन हुने समेत जानकारी गराए । पहिले करीब ३० वटा जिल्ला कार्यालय रहेका थिए ।
रासस