एसएसपी खत्रीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

750 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङमा बिहिवारनै  बयान र थुनछेक बहसपछि जिल्ला कारागार मोरङ पठाउन आदेश दिएको हो ।

अदालतको बयानमा एसएसपी खत्रीले सुन तस्करी गरेको अस्वीकार गरेका छन् । अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन् ।

‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर ? खत्रीले बयानमा भनेका छन् ।

खत्रीले बयानमा एयरपोर्टबाट सुन तस्करी भएको कुरा आफुलाई थाहा नभएको र संलग्नता पनि नरहेको बताएका छन् । साथै उनले कमिसन लिएको कुरा पनि झुटो भएको बयानका क्रममा बताएका छन् ।

सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।

खत्रीले जिल्ला अदालत,  मोरङमा विहिबार आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

यस प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री त्रिभुवन विमानस्थलमा कार्यरत रहँदादेखि हरेक प्रति किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।

गोरेको सार्वजनिक भएको डायरीमा पनि खत्रीले पटक पटक गरेर एक करोड १२ लाख रकम लिएको उल्लेख थियो । खत्री त्रिभुवन विमानस्थलमा आर्थिक बर्ष २०७२-७३ मा कार्यरत थिए ।

-खरिबोटबाट