सडक बन्यो पुल छैन

1092 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नारायणगढ–मुग्लिङ सडक अन्तर्गत निर्माण पूरा भएको गाईघाट खण्ड।

काठमाडौं ः मुग्लिङ–नारायणघाट सडक कालोपत्रेले जोडिए पनि पुल नबनेका कारण सवारी आगमन सोचेजस्तो सजिलो छैन। ३६ किलोमिटर लामो राजमार्गमा १८ पुल आवश्यक छ। तीमध्य १४ को निर्माणको सुरसारै छैन।

यो सडकका सबै पुल नयाँ बनाउनुपर्ने भए पनि हालसम्म जम्मा चारवटा मात्रै निर्माण थालिएको छ। सडक निर्माणबाट बचेको करिब २४ करोड रुपैयाँबाट चारवटा पुलको ठेक्का गरिएको सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक समन्वय विभाग प्रमुख सञ्जय श्रेष्ठले बताए। उनले भने, ‘बाँकी १४ वटा पुल बनाउन पैसा छैन।’

१४ वटा पुलका लागि सडक निर्माणको साझेदार विश्व बैंकले नै थप ऋण दिने सहमति भएको छ। सहमतिअनुसार पुलको प्रस्ताव र आवश्यक लागत तयार पारेर विश्व बैंक पठाएको प्रमुख श्रेष्ठले बताए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

उनले भने, ‘विश्व बैंकले प्रस्ताव मूल्यांकन गरिरहेको छ। कहिले निर्णय आउँछ भन्न सकिन्न।’ विश्व बैैंकसँग नेपालले पुल बनाउन दुई करोड २० लाख अमेरिकी डलर मागेको छ। ‘बैंकसँग सहुलियत ऋण लिने प्रस्ताव हाम्रो हो’, प्रमुख श्रेष्ठले भने, मुग्लिङ–नारायणघाट सडकमा बाँकी १४ पुललाई भत्काएर नयाँ बनाउने यो पैसा खर्च हुन्छ।’

सडक सञ्चालन भइसक्दा पनि पुल नहुँदा सवारी आवागमनमा अहिलेको पुरानो र साँघुरा पुलका कारण केही असहजता हुन सक्ने प्रमुख श्रेष्ठको दाबी छ। यो सडकमा निर्माण हुने पुलको प्रारम्भिक डिजाइन विभागले तयार पारिसकेको छ। सोही डिजाइनका आधारमा विभागले डिजाइन एन्ड बिल्डको ठेक्का गर्नेछ। डिजाइन र निर्माण एउटै कम्पनीले गर्ने भए पनि अहिलेसम्मकै छिटो र नमुना काम गर्ने गरी विभागले तयारी गरेको उल्लेख छ।

विभागले यो सडकमा २५ मिटरदेखि ६० मिटरसम्मका मोटरेवल पुल निर्माण गर्दै छ। हाल ठेक्का लागेर निर्माण सुरु भएको २० मिटरको दासढुंगा, २५ मिटरको खानीबारी, २५ मिटरको मौरी र ८५ मिटरको जलवीरे पुल छन्। चारवटै पुल दुई वर्षभित्रै निर्माण सकिनेछ।

सडक साढे पाँच मिटरबाट ११ मिटरसम्म चौडा गरिएको छ। पहाडी क्षेत्रमा ९ मिटर र अन्य स्थानमा ११ मिटरसम्म सडक विस्तार भएको छ। विश्व बैंकको करिब दुई अर्ब ९० करोड सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भएको यो सडकको भौतिक निर्माण करिब ९२ प्रतिशत सकिएको छ। यो सडक जम्मा ३५ मिनेटमै पार गर्न सकिने क्षमतामा विस्तार भएको भए पनि पुल नहुँदा समस्या हुनेछ।