वागेश्वरी माविका विद्यार्थीमा ‘कन्भर्सन डिसअर्डर’को समस्या-एक साताका लागि बिद्यालय वन्द
1711 पटक पढिएको
धादिङ, ४ असार -गल्छी गाउँपालिका–६ बैरेनी वजारमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयका केही बिद्यार्थीमा अनौँठो समस्या देखा परेको छ। बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या निरन्तर देखिएपछि आगामी आईतबार सम्मका लागि बिद्यालय वन्द गरिएको छ । विद्यालयमा केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक राजनप्रसाद अधिकारीले वताउनु भयो ।
प्रधानाध्यापक अधिकारीका अनुसार एक साता अघि पहिलो पटक देखा परेको यो समस्याका कारण त्यति बेला दुई दिन विद्यालय बन्द गरी पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र असार ३ गते आईतबार धेरै जना बिद्यार्थी विरामी परेपछि आगामी आईतबार सम्मका लागि बिद्यालय वन्द गरिएको उहाँले वताउनु भयो ।
सामान्यतया मनोचिकित्सकहरुले कन्भर्सन डिसअर्डर भन्ने यो समस्या उत्पन्न हुँदा काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरु देखाउने गर्छन् । डाक्टर रामहरि रेग्मी भन्छन्, ‘मास हिस्टेरिया समुहमा पहिला एकजनालाई सुरु हुन्छ । उसको अवस्था देखेपछि त्यो अवस्थाबाट प्रभावित भएर संगै रहेका अरु मानिसमा एक प्रकारको डर पैदा हुन्छ अनि एक पछि अर्कोमा पनि यस्तै लक्षण देखापर्न थाल्छ । जसलाई मास हिस्टेरिया भनिन्छ ।’
यो समस्या ‘कन्भर्सन डिसअर्डर’ भएको चिकित्सकहरुले वताएका छन् । उपचार गराउँदा पनि रोग विसेक नभएकाले बिद्यार्थीमा मनोसामाजिक परामर्श आवश्यक परेको बिद्यालयले जनाएको छ । विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिए पछि बिद्यालयमा पठन पाठन प्रभावित हुन थालेकाले एक साताका लागि बिद्यालय वन्द गर्नु परेको प्रधानाध्यापक अधिकारीले धादिङ न्यूज लाई वताउनु भयो ।