अब प्रदेशस्तरमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

1051 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ- नेपाल सरकारले देशका सात वटै प्रदेशमा  शिक्षा कार्यालय स्थापना गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई प्रदेशस्तरमा  सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ।

यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय रहेको थियो। अर्यालले प्रदेशस्तरमा शिक्षासम्बन्धी हुने सम्पूर्ण काम कारवाही गर्न निर्देशनालय स्थापना गर्न लागिएको हो भने।

निर्देशनालयले प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेछ। उनका अनुसार प्रदेश सरकारले नै उक्त निर्देशनालय कहाँ रहने भन्ने टुङ्गो लगाउने छन्।

उक्त निर्देशनालयमा उपसचिवको नेतृत्वमा चार शाखासमेत स्थापना गरिने छ। मन्त्रालय कर्मचारी महाशाखाका प्रमुख बाबुराम पन्थीले प्रत्येक निर्देशनालयमा ३५ कर्मचारी रहने छन्।

उनका अनुसार एक सहसचिव, चार उपसचिव, आठ शाखा अधिकृत र अन्य कर्मचारी रहने छन्। उनले एक हप्ताभित्र नै कार्यालय स्थापना गरी कर्मचारीको खटाउने तयारी भइरहेको जानकारी दिए।