पुनर्निर्माण लाभग्राही सूचीमा २ हजार ३ सय गुनासोकर्ता थप

950 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं  २९, भदौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण लाभग्राही सूचीमा थप २ हजार ३ सय ४५ गुनासोकर्तालाई सूचीकृत गरेको छ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फछ्र्यौट गरेको हो।

बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, ८ सय ५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ।

कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ।

प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० लाभग्राहीको अर्को स्थानमा बस्न योग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ।

लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन्।

प्राधिकरणले दुई वा त्यसभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने भएको छ ।

उपत्यका भित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि कार्यकारी समिति बैठकले गरेको छ ।रासस