वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

840 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

काठमाडौं । पछिल्लो समय सक्रिय राजनितिमा नरहेका पुराना वामपन्थी नेता एवम बरिष्ठ मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।

सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

उनी पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  ओलीले ट्विटरमार्फत  तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’