सल्यानटार नमुना सहर बन्छ- नेकपा अध्यक्ष दहाल
1555 पटक पढिएको

सल्यानकोट-— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई देशकै नमुना सहरको रुपमा विकास गरिने वताउनु भएको छ । सल्यानटारलाई नमुना सहरको रुपमा विकास गर्न डिपीआर सुरु गरिएको उहाँले वताउनु भयो ।सल्यानटार बहुचर्चित प्रस्तावित बुढीगण्डकी जलबिद्युत्त आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने क्षेत्र भएकाले बुढीगण्डकी संगै सल्यानटारको पनि विकास गरिने अध्यक्ष दहालले वताउनु भयो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा रहेको कार्कीगाउँ माध्यमिक विद्यालयको ५९ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नवनिर्मित ८ कोठे भवन उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर बुढाथोकिको सभापतित्वमा भएको कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य खेमप्रसाद लोहनी , प्रदेश सभा सांसद जगत सिंखडा, पूर्व सभासद गुरुप्रसाद बुर्लाकोटी, पुष्प बिक्रम मल्ल, नेकपा धादिङका नेता राम बहादुर भण्डारी, बिजय बुर्लाकोटी, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवार, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख शिव रेग्मी,श्रोत व्यक्ति वाबुकृष्ण श्रेष्ठका साथै छिमेकी बिद्यालयका प्रधानाध्यापक, वडा अध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री दहालले भुकम्प पछि निर्माण गरिएको विद्यालयको ८ कोठे नयाँ भवनको उद्घाटन पनि गर्नु भएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाइ धादिङको सहयोगमा निर्माण गरिएको भवनको कुल लागत एक करोड २ लाख रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन नगरकोटीले बताउनु भयो । कार्यक्रममा बिद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।