धादिङ पर्यटन तथा औद्योगिक मेलाको पुर्व राष्ट्रपति यादवद्धारा उद्घाटन

1155 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १७ फागुन-  मुलुकले निकै ठूलो उतार चढाव र असहज अवस्थाहरुको पार गरेर प्राप्त गरेको नयाँ संविधानलाई आत्मसाथ गर्दै देश विकास गर्नका लागी सबै राजनीतीक दलका नेता र जनप्रतिनिधिहरु प्रतिवद्ध हुनुपर्ने पुर्व राष्ट्रपती डाक्टर रामवरण यादवले वताउनु भएको छ ।
शशस्त्र जनयुद्ध र त्यसपछिका जनआन्दोलनको वलमा देशले पुरानो शासनलाई फालेर नयाँ संविधान र जनताको शासन ल्याएकोले सबैले त्यस्को मर्मलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने यादवले वताउनु भयो । यही संविधान अनुसार नै देश संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र जनताका प्रतिनिधिहरु तीन ओटा तहहरुमा रहेकोले अव जनताले चाहे अनुसारको दिगो विकासले गति लिनु पर्नेमा यादवले जोड दिनु भएको छ ।
जिल्ला होटल संघ धादिङले सदरमुकाम धादिङबेसीमा आयोजना गरेको धादिङ पर्यटन तथा औद्योगीक मेलाको शुक्रवार उद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले संविधानको मर्म र जनप्रतिनिधिहरुको जिम्मेवारीका बिषयमा आफ्नो धारणा राख्नु भएको हो ।
जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा सहयोग पु¥र्याउने उद्धेश्यका साथ आयोजना गरिएको धादिङ पर्यटन तथा औद्योगिक मेला दश दिनसम्म चल्ने छ । मेलामा विभिन्न खानाका परिकारहरुको स्टल राखिएको छ । विहिवार देखि शुरु हुने भनिएको मेला पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको ताप्लेजुङमा भएको दुर्घटनामा परि ज्यान गएपछि सरकारले विहिवार राष्ट्रिय शोक दिवस घोषणा गरेका कारण एक दिन पछि मात्र मेला शुरु भएको हो ।
धादिङको सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको सो मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पन्ध्र करोडको कारोवार गर्ने होटल संघ धादिङले जानकारी दिएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको मेलाको उद्घाटन कार्यक्रमलाई धादिङ क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनी, प्रदेश सभाका सांसदहरु डाक्टर रामकुमार अधिकारी, डाक्टर राजाराम कार्की,पुर्व मन्त्री कल्पना धमला, दिलमान पाख्रिन,जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, पुर्व सांसद रामनाथ अधिकारी,नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, नेकपाका जिल्ला नेता रामवहादुर भण्डारी र नेपाली काँग्रेसका सभापथि रमेश धमला लगायतले सम्वोधन गर्नु भएको थियो । मेलाको उद्घाटन अघि सदरमुकाम क्षेत्रमा धार्मिक, सांस्कृतिक, खेलकुद तथा अन्य महत्वका झाँकी सहितको ¥याली समेत निकालिएको थियो ।