अधिकांश स्थानीय तहमा औषधि हाहाकार

1058 पटक पढिएको

सम्पादक: Dhading News

सरकारले आमनागरिकलाई सहज रूपमा औषधि पु¥याउने नीति लिए पनि अधिकांश स्थानीय तहमा औषधि अभाव देखिएको छ।

सरकारको सो नीति विकट र दुर्गम गाउँका बासिन्दाका लागि ‘आकाशको फल आँखा तरी मर्’ सरह हुन पुगेको छ। मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा गाँसिएको औषधि अभाव हुँदा स्थानीय घण्टाैं हिँडेर जिल्ला सदरमुकाम धाउन बाध्य छन्।  औषधि वितरणलाई प्रभावकारी बनाएको सरकारले दाबी गरे पनि अधिकांश स्थानीय तहमा औषधि अभाव कायमै रहेको छ।

त्यति मात्र होइन, सरकारले निःशुल्क वितरण गरिरहेको जीवनजल, सिटामोल, एन्टिबायोटिक, रेबिज भ्याक्सिन, टीटी खोप, जिंक चक्कीजस्ता औषधि पनि अधिकांश स्थानीय तहमा अभाव हुने गरेको छ। यसैगरी, पेट दुखाइका बिरामीका लागि आवश्यक पर्ने हाइब्रो, सर्जिकल ब्लोक्स, परिवार नियोजनका स्थायी साधन पनि पर्याप्त मात्रामा पाउने गरेको छैन्। खरिद प्रक्रियामा परिवार नियोजनका साधनहरू नसमेटिँदा यसको चर्को अभाव हुने गरेको देखिन्छ।

‘हामीकहाँ टीटी खोप आउनै छाडेको छ,’ दाङ लमही नगरपालिकाका वरिष्ठ अहेव रूपनारायण चौधरीले भने, ‘तीन सय भाइल रेबिज भ्याक्सिन आवश्यक परे पनि एक सय भाइल मात्रै आपुर्ति हुने गरेको छ।’ उनले भने, ‘हामीकहाँ जिङ्क चक्की, जीवनजल पनि पर्याप्त मात्रामा छैन। सरकारले पर्याप्त मात्रामा औषधि खरिद गरेर पठाउनुपर्छ।’
काठमाडौंस्थित चन्द्रागिरि नगरपालिका सतुगंल स्वास्थ्य चौकीका हेल्थ इन्चार्ज सीमा पौडेलले पर्याप्त मात्रामा औषधि नहुँदा समस्या भएको बताइन्। उनले काम चलाउ मात्रामा औषधि भए पनि पर्याप्त नहुँदा बिरामीलाई अप्ठ्यारो हुने गरेको गुनासो गरिन्। राजधानी दैनिकमा खबर छ।