समायोजनले स्थानीय तहमा लेखा शाखामा कर्मचारी अभाव

709 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लेखासँग सम्बन्धित कर्मचारी अभाव हुँदा देशभरका झन्डै आधा स्थानीय तहको काम प्रभावित भएको छ । कर्मचारी समायोजन प्रक्रियापछि पहिले केन्द्रबाट खटिएका लेखा कर्मचारीको सरुवा हुँदा धेरै स्थानीय तहमा लेखा कर्मचारी अभाव भएको उपमहालेखानियन्त्रक तथा कर्मचारी प्रशासन शाखा प्रमुख सुवासचन्द्र सिवाकोटीले बताए । उनका अनुसार अहिले करिब तीन सय ५० स्थानीय तहमा लेखा प्रशासनसँग सम्बन्धित कर्मचारी अभाव छ । करिब ५० गाउँपालिकामा लेखासँग सम्बन्धित कामकाज नै लगभग ठप्प छ । ‘कर्मचारी समायोजनपछि रिक्त स्थानमा कर्मचारीलाई दोहोरो जिम्मेवारी नपर्ने गरी काजमा खटाउने प्रयास भइरहेको छ,’ उपमहालेखानियन्त्रक सिवाकोटीले भने, ‘तर, कतिपय जिल्लामा पठाउन कर्मचारीकै अभाव छ ।’ चालू आर्थिक वर्ष ०७५र७६ को अन्तिम चौमासिक चलिरहेको छ । यो समय सरकारले गरेका कामको भुक्तानी हुने समय हो । त्यसो हुँदा अहिले सबै तहका सरकारमा रकम भुक्तानीको चाप छ । स्थानीय तहमा भएको कामको अनुगमन, मूल्यांकन र त्यसपछि हुने भुक्तानी नै कर्मचारी अभावले प्रभावित भएको गाउँपालिकाहरूको गुनासो छ  नयाँ पत्रिका दैनिकमा खबर छ ।