सगरमाथामा थुप्रियो फोहोर, सरसफाईका लागि अभियान चलाईदै

836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, चैत २९ – बाह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सर्वोच्च शिखर सगरमाथाको सफाइ अभियान सञ्चालन गरिने भएको छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ आयोजना गर्न लागिएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा सफाइ अभियान गर्न लागिएको जानकारी दिइयो ।

सो अभियानले सगरमाथाबाट करिब १० हजार टन फोहर सङ्कलन गरिने आयोजकले जनाएको छ । यस पटकको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा रहेका शवको पनि व्यवस्थापन गर्न प्रयास गरिनेछ । सङ्कलित फोहर अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) का दिन सोलुखुम्बुको नाम्चेमा प्रदर्शन गर्ने र तत्पश्चात व्यवस्थापन गर्न सकिने फोहरलाई नाम्चेमै व्यवस्थापन गरिनेछ । प्रशोधन गर्न मिल्ने फोहर काठमाडौँ ल्याई विश्व वातावरण दिवस ९५ जुन० का दिन काठमाडौँमा प्रदर्शन गरी ‘ब्लू वेष्ट टु भ्यालु’ नामक संस्थालाई उचित व्यवस्थापनका लागि हस्तान्तरण गरिने जनाइएको छ । अभियानका लागि रु दुई करोड ३२ लाख १६ हजार खर्च हुने छ । उक्त रकम आयोजक निकाय र केही दातृ निकायबाट जुटाइनेछ । अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले रु ३० लाख तथा नेपाल पर्वतारोहण सङ्घले रु २० लाख सहयोग गर्ने जनाएका छन् । पर्यटन बोर्ड, विभागलगायत अन्य निकायले अभियानका लागि सहयोग गर्नेछन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार ४५ दिनको सफाइ अभियानमा १४ जना सहभागी हुनेछन् । ६ जना आधार शिविरमा रहनेछन् भने बाँकी आठ जनाले सगरमाथाको चुचुरो नजिक अर्थात् ‘साउथ पोल’सम्म पुगेर फोहर जम्मा गर्नेछन् । ‘साउथ पोल’मा करिब १५ दिन सफाई चल्ने छ । ‘साउथ पोल’बाट दुई हजार र क्याम्प तीनबाट तीन हजार किलो फोहर जम्मा गर्ने लक्ष्य लिइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा सफाइ अभियान निकै चुनौतिपूर्ण काम भएपनि यसलाई सफलताका साथ सम्पन्न गर्न अन्तरनिकाय समन्वयका साथ अघि बढ्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सगरमाथाको फोहोरसम्बन्धी गलत सन्देश विश्व बजारमा गइरहेकाले त्यस्तो भ्रम चिर्दै भएका फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सफाइ अभियान शुरु गरिएको र यसलाई आगामी वर्षमा निरन्तरता दिइने बताए । विदेशी सञ्चार माध्यमले प्रचार गरेजस्तो सगरमाथामा धेरै शव नभएको र साउथ पोलमा दुई देखि तीन मात्र शव भएको सगरमाथा प्रदूषण समितिले स्पष्ट पारेको छ । शव भेटिएको खण्डमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण हुन्छ । समितिका अध्यक्ष शेर्पाले आठ हजार मिटरबाट शव आधार शिविरसम्म ल्याउन कम्तीमा आठ जनाको जनशक्ति चाहिन्छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सगरमाथा क्षेत्रमा कति शव छन् भनेर यकीन विवरण नभएपनि सफाइ अभियानका क्रममा भेटिएका शव मौसमले साथ दिएमा व्यवस्थापन गरिने बताए । जलवायु परिवर्तनको जोखिमबाट सगरमाथासहितका हिमाल संरक्षणमा सबै जुट्नुपर्छ भन्ने सन्देशसहित सफाइ अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन लागिएको उनले जानकारी दिए । अभियानमा साथ दिएको नेपाली सेनाका सेनानी दीपेन्द्र न्यौपानेले अभियानलाई प्रभावकारी बनाउन चिकित्सकसहितको टोली र हेलिकप्टर तम्तयार अवस्थामा रहने बताए ।रासस