भूकम्प गएको चार बर्ष पुरा-धादिङमा निजी आवास पुर्ननिर्माण कछुवा चालमा

1246 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ बैशाख – विनाशकारी भूकम्प गएको चार बर्ष पुरा भईसक्दा पनि धादिङ जिल्लामा क्षती भएका मध्ये ५० प्रतिशत घर अझै सम्म निर्माण हुन सकेको छैन । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धादिङबाट प्राप्त जानकारी अनुसार हालसम्म धादिङमा निजी आवास पुनर्निर्माण अन्र्तगत ४२ हजार ५ सय ३० वटा घर निर्माण सम्पन्न भएको छ । ६५ हजार ९ सय १८ वटा घर निर्माण हुनेक्रममा रहेको जिल्ला पुर्ननिर्माण कार्यान्वयन इकाईले जनाएको छ । भुकम्पले अति प्रभावित बनाएको धादिङ जिल्लामा लाभग्राहीको संख्या ८३ हजार ४१ रहेको छ । कुल लाभग्राही मध्ये अहिले सम्म ७४ हजार १ सय ५३ जना सँग अनुदान सम्झौता भएको छ ।
अनुदान सम्झौता भएका मध्ये पहिलो किस्ता लिएका लाभग्राहीको संख्या ७३ हजार ६ सय ९८ रहेको छ भने दोस्रो किस्ता लिनेको संख्या ६२ हजार ४ सय ८६ रहेको छ । पहिलो किस्ता लिएर दोश्रो किस्ताका लागि आवेदन गर्ने लाभग्राहीको संख्यामा कमि हुनुमा धेरैवटा कारणहरु समस्याका रुपमा रहेको छ । दोश्रो पछि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ४६ हजार ४ सय २५ मात्रै रहेको कार्यालयले जनाएको छ ।

भुकम्पले भत्काएको घर निर्माणका लागि सरकारी तबरबाट जे जति लगानी गरिएको भएपनि समुदाय आंफैले चासो नदिंदा, घर वनाउने चाहिने आर्थिक श्रोत तथा अन्य पुर्वाधारको कमि, जनशक्तिको अभाव जस्ता कारणले धादिङमा पुनर्निमाणको अवस्था सन्तोषजनक नदेखिएको हो । अनुदान लिएर घर बनाउन नसक्नेको संख्या जति धेरै छ विभिन्न समयमा गुनासो दर्ता गर्नेहरुको संख्यापनि धेरै नै रहेको छ । अहिले सम्म धादिङमा २४ हजार ७ सय ३ जनाले गुनासो दर्ता गरेकोमा गुनासो फछ्र्यौट हुनेको संख्या १७ हजार ७ सय १० रहेको छ । अहिले जिल्लाको १३ वटै स्थानीय तहले गुनासोको फाराम संकलन गरिरहेका छन । गुनासो संगै धादिङमा रेट्रोफिटिङ (प्रवलीकरण) सुचीमा परेका लाभग्राही संख्या पनि धेरैनै रहेको छ । प्रवलिकरणका लागि १४ सय ४९. जना संग अनुदान सम्झौता भएकोमा अहिले सम्म ५६५ जनाले मात्रै पहिलो किस्ता लिएको पुर्वाधार कार्यालयको अभिलेखमा जनाईएको छ ।
चार बर्ष देखि चलिरहेको पुनर्निर्माणको काममा ढिलाई हुनुमा प्रमुख समस्याका रुपमा खटिएका प्राविधिक गाउँमा (घर हेर्न) जाने संख्यामा कमि जसले गर्दा मापदण्ड अनुसारका घर बन्ने क्रममा बाधा परेको जनप्रतिनिधिहरु बताउँछन ।
कतिपय स्थानमा भने केही ठाउँमा वडा अध्यक्ष र प्राविधिकको विचमा आपसी तालमेल नमिलेको कारण पनि समस्या देखिएको छ । भुकम्प प्रभावितले पनि भुकम्प पछि बनेका घर आफ्नै सुरक्षाको लागि हो भन्ने नसोच्न्नु, यो त भुकम्पको घर हो, जसरी पनि अनुदान पाउनुपर्छ भन्ने मानसिकता देखिएको छ । केही ठाउँमा प्राविधिकलाई अनेक प्रभावमा पारेर किस्ता सिफारिस गर्न लगाउने गरेको पनि पाईएको ट्रान्सपरेन्सी इन्टरनेशनलद्धारा धादिङ जिल्लामा संचालन भईरहेको नेपाल भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिना बताउनुहुन्छ ।
भुकम्प प्रभावित हरुलाई बैकहरुले पनि उत्तिकै सास्ती दिने गरेका छन् । विभिन्न बहानामा रकम भुक्तानीमा ढिलाई गरिदिने, किस्ता सिफारिस भएको लामो समयसम्म पनि लाभग्राहीले अनुदान रकम नपाउने समस्याको कारण धादिङमा पुननिर्माणले गति लिन नसकेको अधिकृत तिमिल्सिनाको भनाई छ ।