चैनपुर खानेपानी आयोजनाको उद्घाटन, गाउँवासीमा छायो खुसीयाली

2880 पटक पढिएको

सम्पादक: Dhading News

  • धादिङ न्यूज समाचारदाता

चैनपुर- धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चैनपुर,धारापानी, डाँडाथोक, कोटथोक, खानेपानी तथा सरसफाई आयोजना मंगलबार उद्घाटन गरिएको छ ।


विश्वबैकको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई विकास कोष समिति (फण्डबोर्ड) नेपालले स्थानीय गैर सरकारी संस्था फोकस नेपाल मार्फत २०७० सालमा शुरु गरि २०७२ को भुकम्पले क्षती वनाएर पु्ननिर्माण गरिएको खानेपानी आयोजनाको मन्त्री मगरले मंगलबार उद्घाटन गर्नु भएको हो । खानेपानी उद्घाट्नका लागि गाउँ पुग्नु भएकी मन्त्री मगरलाई चैनपुरका वासिन्दाले पञ्चैवाजा वजाएर गाउँ घुमाएका थिए । मन्त्री मगरले धारा खोलेर घुटुघुटु पानी पिउँदै खानेपानी आयोजना उद्घाटन गर्नु भएको थियो ।

बिद्युत्तिय लिफ्टिङ प्रविधिबाट संचालन गरिएको आयोजनामा ४ वटा इन्टेक, १२८ घन मिटर क्षमता भएको ६ वटा ट््याङ्की ४ ठाउँमा पम्प, हाउस रहेको छ । यसै गरी २ ठाउँमा पानी वितरण केन्द्र, ७ वटा पम्प, ७ वटा प्यानल वोर्ड रहेको जस्बाट गाउँका १ सय ६१ घर परिवार लाभान्वित भएका छन । घर घरमा मिटर सहितको धारा जडान गरिएको छ । टुहुरे खोलाको मुहानबाट बस्तीको सबै भन्दा माथि रहेको अनकन्या मन्दिर सम्म पुग्दा भर्टिकल हाईट ३ सय २३ मिटर र लम्बाई १६ सय मिटर रहेको छ । टुहुरेखोला मुहानबाट १३ सय मिटरमा रहेको चिसापानी र खोपखोलाबाट ११ सय मिटर र कमेरे खोलाबाट ७ सय मिटरको उचाईमा तीनवटा इन्टेक बनाई पानी संकलन गर्ने गरिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुलीले बताउनु भयो।

उपभोक्ता समितिका सचिव टंक छत्कुलीका अनुसार आयोजना सम्पन्न गर्न कुल १ करोड ३२ लाख ४६ हजार २ सय १६ रुपैयाँ खर्च भएको छ । आयोजनाका लागि सम्पन्न गर्न फण्डबोर्डबाट ३६ लाख ६२ हजार, बिद्युत्त लाइन बिस्तारका लागि ३० लाख, जनश्रमदान २४ लाख, जिल्ला विकास समिति धादिङबाट चार लाख ६९ हजार आठ सय १६, चैनपुर गाविसबाट ७४ हजार, आरनढुंगा सामुदायिक बन उपभोक्ता समूहबाट २ लाख ८९ हजार, अंधेरी सामुदायिक बनबाट २ लाख ८१ हजार, उपभोक्ताबाट उठेको ७ लाख १७ हजार ६००, मर्मतकोषबाट संकलित ८० हजार र फोकस नेपालबाट ३४ हजार, महिला समूह, वडाको टु्क्रे योजना, स्थानीय महिला समूह, उपभोक्ताबाट सहयोग संकलन गरि श्रोत जुटाईएको हो ।

पानी उपभोग गरेवापत उपभोक्ताले महसुल तिर्नुपर्ने भएपछि सबै उपभोक्ता त्यो हैसियतमा नरहेको भन्दै बिद्युत्त महसुलमा छुट दिनका लागि स्थानीयले मन्त्री मगर संग आग्रह गरेका छन । गाउँमा खानेपानी आयोजना आउनु अघि हरेक दिन दैनिक २ घण्टा समय पानीको जोहो गर्न विताउनु पर्दा घर धन्दा र खेतीपाती गर्न समेत नभ्याउने गृहिणीहरु अहिले पर्याप्त समय निकालेर काममा व्यस्त हुन थालेको स्थानीय वोधमाया उपाध्याय बताउनुहुन्छ ।

उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद खेमप्रसाद लोहनी, संविधान सभा सदस्य गुरुप्रसाद वुर्लाकोटी, विश्व बैकका कन्ट्री मेनेजर फेरिस हदाद , फण्डबोर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल, फण्डबोर्डका पुर्व अध्यक्ष एवम धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, नेकपा ३ नम्बर प्रदेश कमिटि सदस्य रामवहादुर भण्डारी,ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजनाथ लोहनी लगायतले आयोजना सफल भएकोमा समुदाय र सहयोगी निकायलाई बधाई दिदैं यस्को निरन्तरताको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, उपाध्यक्ष जानुका सिम्खडा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,सामाजिक क्षेत्रका व्यक्तित्वहरु, स्थानीय बिद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा खानेपानीका लागि मुल दिएर सहयोग गर्ने स्थानीयहरुलाई मन्त्री मगरको हातबाट दोसल्ला ओढाई कदर पत्र दिएर सम्मान गरिएको थियो ।