धादिङबेसीबाट १२ लाख ८० हजार लुटेर भागेका रामवहादुुर नागढुंगामा पक्राउ
2795 पटक पढिएको

धादिङ, २५ असार – धादिङको सदरमुकाम धादिङबेसीबाट उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैया लुटेर भागेको आरोपमा धादिङ खनियाबास गाउँपालिकाका एक युवक काठमाण्डौंको नागढुंगाबाट पक्राउ परेका छन् ।
धादिङको खनियावास गाउँपालिका वडा नं २ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको नाममा चेक साटेर बैकंबाट रकम निकाल्ना साथ समितिकै सदस्य रामबहादुर तामाङ सो रकम लिएर भागेपछि उनको खोजीका लागि प्रहरीमा उजुरी परेको थियो । बुधबार दिउँसो धादिङबेसी स्थित राष्ट्रिय बाणिज्य बैकबाट पैसा झिक्नासाथ रकम लिएर फरार भएको आरोप लागेका झार्लाङका रामवहादुर तामाङ मोटरसाइकलमा काठमाण्डौंतर्फ जाँदै गरेको अवस्थामा नागढुङगाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख (प्रहरी उपरिक्षक) राजकुमार बैदवारले बताउनु भयो ।
गाउँपालिकाले दिएको चेकबाट १७ लाख ८० हजार रुपैया साटिएको भएपनि १२ लाख ८० हजार रुपैया लिएर रामवहादुर फरार भएका थिए । समितिको पैसा लिएर रामवहादुर सम्पर्क विहिन भएपछि उपभोक्ता समितिका अध्यक्ष कान्छा तामाङले रकम लुटिएको भन्दै खानेजबिनका लागि प्रहरीमा उजुरी दिएका थिए ।
खनियाबास गाउँपालिकास्थित साविकको दार्खा गाविसको कुरीबाट झार्लाङ गाविसको अक्थली जोड्नको लागि गाउँपालिकाले ४५ लाख रुपैया विनियोजन गरेको थियो । काम हुदै गर्दा रनिङ विलको आधारमा पैसा निकाल्दै काम गरिरहेपनि काम सम्पन्न भएपछि वाँकी रकम निकाल्ने क्रममा पैसा लुटिएको अध्यक्ष तामाङले वताए ।