करेन्ट लाग्दा दुईको मृत्यु सात जना घाईते (Update)
960 पटक पढिएको

धादिङ,९ बैशाख – धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा बिद्युत सर्ट भई करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
सोमवार सांझ ६.३० वजे तिर थाक्रे गाउँपालिका वडा नं ३ को बालुवाखर्कमा रहेको बिद्युत ट्रान्सफर्मरमा चट्याङले क्षती पु¥याएपछि त्यहाँबाट बितरित प्रशारण लाईनमा हाइभोल्टेज भएर बस्तीको घर घरमा करेन्ट सर्ट भएको स्थानीयले वताएका छन् ।
हाइभोल्टेजका कारण करेन्ट लागेर थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र बिचारीटोलका २३ वर्षीय सागर अर्यालको मृत्यु भएको हो । घाईते अवस्थामा रहेका उनिहरु दुवै जनालाई उपचारका लागि अस्पताल लैजांदै गर्दा धार्के पुग्दा मृत्यु भएको वडाअध्यक्ष अमित घलेले जानकारी दिए । दुर्घटनाको खबर आउनासाथ वडाअध्यक्ष अमित घले लगायतको टोलीले दुईवटा एम्बुलेन्स गाउँ लगेर घाईतेहरुको उद्धार गरी उपचारमा पठाएका थिए ।
सो दुर्घटनामा परि अन्य सात जना घाईते भएका छन् । घाईतेहरु मध्ये रुपक अर्याल र निरमाया तामाङको अवस्था गम्भिर रहेकाले उनिहरुको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य घाईतेहरु ५२ वर्षीया धनकुमारी तामाङ, ७० वर्षीया तारासिंह तामाङ, ६४ वर्षीय कान्छी तामाङ, ३६ वर्षीया सानु तामाङ, ६३ वर्षीया ठूली तामाङका भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भइरहेको महादेबबेसी प्रहरी चौकीले जानकारी दिएको छ ।
घटनाको यथार्थ अबस्था बुझ्नका लागि महादेबबेसीबाट प्रहरी टोली गाउँ खटाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
थांक्रे गाउँपालिकाको यो क्षेत्रमा बर्षेनी जस्तो चट्याङले नोक्सानी पु¥याउने गर्दछ । २०६३ सालमा पनि माईक्रोहाईड्रोमा चट्याङ लाग्दा गाउँभरी बिद्युत सर्ट भएर चार जनाको मृत्यु भएको थियो भने ३५ जना घाईते भएका थिए । यो भन्दा पछि पनि बर्षेनी जस्तो यस क्षेत्रमा चट्याङले मानिस तथा चौपायाको ज्यान लिने गरेको स्थानीयले वताएका छन ।