बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

1516 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक समूह आदीको नामबाट  कानून हातमा लिएर उदण्ड व्यवहार देखाउन थालेपछि गृह मन्त्रालयले त्यस्ता कार्य रोक्न निर्देशन दिएको हो ।

विभिन्न समूह, टोल सुधार, नागरिक अभियन्ता, सामाजिक कार्यकर्ता जस्ता पदवी जोडेर विभिन्न स्थानमा भईरहेका अत्यन्त अमानवीय कार्यहरु प्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसप्रकारका अवाञ्छित क्रियाकलापमा संलग्न कूनैपनि व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजांय हुने पनि मन्त्रालयले जनाएको हो ।

गृहमन्त्रालयद्वारा आईतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्‍वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामुहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्‍चय पनि राम्रो होईन । नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न नेपाल सरकारले नेपाल राज्यका सवै प्रमुख जिल्ला अधिकारीहरुलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजांय हुने प्रावधान समेत रहेको व्यहोरा सम्बन्धित सवैलाई जानकारी नै छ । यस पृष्ठभूमिमा उपरोक्त किसिमका कुनै पनि अवाञ्ञ्छित गतिविधिहरु कुनैपनि निकाय वा व्यक्तिहरुबाट नगर्नु नगराउनु हुन गृह मन्त्रालय सम्बन्धित सवैलाई हार्दिक अनुरोध गर्दछ ।’भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।