नीलकण्ठ नगरपालिकाले वेवास्ता गरेपछि नेत्रावतीले दियो साथ

1482 पटक पढिएको

सम्पादक: Dhading News

साङ्कोष–तिप्लिङ सडक खण्ड अन्तर्गत निलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित दामगाडेमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यको टोलीले बिग्रिएको सडक मर्मत गरेका छन् ।

निलकण्ठ नगरपालिकाको सिमा क्षेत्रमा पर्ने दामगाडे स्थित सडकमा नेत्रावती डवजोङ गाउँपालिकाको डोजर आफ्नो गाउँपालिका देखि १५ किलोमिटर वर आएर बिग्रिएको सडक मर्मत गरेको हो । सडक मर्मतमा खटिएका नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष शाक्यलाई किन तपाईहरु निलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा आफ्नो गाउपालिकाको बजेट प्रयोग गरेर सडक मर्मतमा लाग्नु भएको भनेर सोध्दा अध्यक्ष शाक्य भन्नुहुन्छ –“नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले अहिले तत्काल दामगाडे सडक मर्मत गर्न नसकिने भनेपछि आफुहरु मर्मतका लागी आएका हौँ ।” मेयर ढुङ्गानाले साङ्कोष–तिप्लिङ सडक खण्ड मर्मतका लागी नगरपालिकाको दायित्वमा नपर्ने बताउनु भएको र त्यो गलत भएको अध्यक्ष शाक्यले बताउनु भयो । अध्यक्ष शाक्यका अनुसार उक्त सडक हुदै गाउँपालिका सम्म नै सडक मर्मत गरिने छ ।

निलकण्ठ नगरपालिकामा यस बष १ अर्ब १ करोड ८ लाख १ हजार ४ सय ३ रुपौयाँ र नेत्रावती डवजोङ गाउपालिकामा ५० करोड ५ लाख ५५ हजार ८ सय ७४ रुपौयाँ बजेट बिनियोजन भएको छ तर नगरपालिका अन्र्तगतको दामगाडेमा सडक मर्मत भने अन्य कुनै गाउँपालिकाले गरि रहेका छन् ।

नगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम लम्साल आफै भन्नु हुन्छ,–“नगरपालिकाले दामगाडे सडकलाई त्यति चासो दिएको छैन ।” हामीले यो सडक तपाईको वडामा पर्छ, तपाईले किन मर्मत गर्न सक्नुहुन्न ? भनेर प्रश्न गर्दा लम्साल भन्नुहुन्छ,– “बनाउन त सकिन्छ तर यस बर्ष यो सडकको नाममा बजेट बिनियोजन भएको छैन, त्यसैले मर्मत नभएको हो ।”