मैनबत्ती प्रज्वलन गरेर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी

1015 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबार देखि विश्वव्यापी रुपमा शुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले आह्वान गरे अनुसार हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाउने गरिएको छ ।

महिला विरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर १६ दिने अभियान शुरु भएको हो । सदरमुकाम धादिङबेसीमा पनि अभियानको शुभारम्भ गरिएको छ । धादिङबेसीमा सामूहिक रुपमा मैनबत्ती प्रज्वलन गरेर अभियानको थालनी गरिएको हो ।

महिला हिंसा बिरुद्ध सक्रिय रह्दै आएका सरकारी तथा गैर सरकारी संघ संस्था र अधिकारकर्मीहरुको पहलमा मंगलबार सांझ धादिङबेसी पुछारवजार एमालेचोकमा सामूहिक रुपमा मैनबत्ती प्रज्वलन गरिएको थियो ।


उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बरामु, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष गायत्री खतिवडा, महिला अधिकारकर्मी राधिका सापकोटा ,नेकपाका जिल्ला नेता नरेश खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

लैङ्गिक हिंसा विरुद्धको अभियान सन् १९९१ देखि शुरु भएको हो । विभिन्न चेतनामूलक कार्यक्रमसहित देशभर अभियान चलाउन ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ वटै स्थानिय तह, वडा र संघसंस्थालाई अभियान दिवसको रुपमा सन्चालन गर्न महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयले सार्वजनिक अपिल गरेको छ ।