अवैध लागुऔषध सहित थाँक्रेकी अमृता र अर्की एक महिला पक्राउ
852 पटक पढिएको

काठमाडौं- प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका-१३ रविभवनमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका-९ की २९ वर्षीयाअमृता तामाङ पक्राउ परेका हुन । उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो।
प्रहरी अनुसार रिताबाट सुरूमा ३ सय १२ ग्राम र अमृताबाट ४०४ ग्राम गाँजा र ५ हजार बरामद गरेको थियो। उनीहरू दुबै जना काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ बलम्बुमा डेरा गरी बस्दै आएका थिए । प्रहरीको टोलीले थप अनुसन्धानको क्रममा उनीहरूको कोठा तलासी गर्दा अमृता तामाङ सुत्ने खाटमुनिबाट प्रहरीले थप लागुऔषध गाँजा ६ किलो ९० ग्राम बरामद गरेको थियो। साथै, ६ लाख ५७ रुपैयाँ समेत बरामद गरेको थियो।