निषेधाज्ञा कडा बनाउन देशभरका प्रजिअलाई गृहकाे निर्देशन

1002 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ, ८ जेठ  : कोरोना भाइरसको महामारी बढ्दै जान थालेपछि यति बेला देशैभर निषेधाज्ञा जारी रहेको छ । भाइरसको दोस्रो लहर सुरु भएपछि लगाइएको  निषेधाज्ञालाई अझै थप कडा बनाउन ३ वटै सुरक्षा निकाय र देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको छ। गृहसचिव महेश्वर न्यौपानले शनिबार तीन वटै नियका प्रमुख र ७७वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञालाई थप कडा बनाउन निर्देशन दिएका हुन्।

गृहसचिव न्योपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृह मन्त्रालयमै बोलाएर निर्देशन दिएका हुन् भने प्रजिअहरुलाई निषेधाज्ञा कडा बनाउन परिपत्र गरेका छन्।

सचिवको निर्देशनपछि मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको छ। निषेधाज्ञाका पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।