कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै साउन ३१ गतेदेखि

1272 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– कोभिड १९ को उच्च जोखिमका कारण रोकिन पुगेको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताउनुभयो ।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ । ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भन्नुभयो, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताउनुभयो । अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उहाँले बताउनुभएको आजको नागरिक दैनिकले खबर लेखेको छ ।