सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ

835 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। साथी संग रहेको ९ लाख रुपैयाँ लुट्ने नियत राखी नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


बिहीबार बिहान भरतको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा नहरमा फेला परेको थियो । ३६ वर्षीय भरत धादिङ निलकण्ठ नगरपालिका १३ साङकोषका वासिन्दा हुन् । भरतको टाउकोमा गोली लागेको थियो । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने भनेर खबर गरेपछि गंगाधर उनलाई लिन काठमाडौं पुगेका थिए । गंगाधरको मोटरसाइकलमा चितवन आएर उनीहरु होटलमा बसेका थिए ।

भरतले बोकेर ल्याएको झोला भरतपुर-११ शारदानगरस्थित माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजासहित अत्यधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए ।

पिसाव फेर्ने बहानामा मोटरसाइकलबाट झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोली हानेर हत्या गरी कुलोमा फालेर भागेकाे प्रहरीको भनाइ छ । गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ताल गेट नजिक फालेकाे एसपी ओमप्रसाद अधिकारीले बताए । बिहिवारनै भरतपुर १८ चनौलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भरतको हत्या गर्नु अघि उनलाई अत्याधिक रक्सी खुवाएर चेकमा आंफैले किर्ते दस्तखत गरी खाताबाट  ९ लाख रुपैयाँ निकाली गंगाधरले १ लाख रुपैयाँ आंफुले राखेर श्रीमतीलाई ६ लाख र बुबालाई २ लाख नगद दिएको पाईएको प्रहरीले जनाएको छ । सो रकम समेत बरामद गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी अधिकारीले बताए ।